सुर्खेतको काँक्रेविहार युथ क्लबले तनहुँको हैरान्स क्लबलाई ३–२ गोल अन्तरले हरायो भने दोलखाको टाइगर्स टिमले उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
हेटौंडा — हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा सुर्खेतको काँक्रेविहार युथ क्लब र दोलखाको टाइगर्स टिमले जित निकालेका छन् ।
बिहीबार भएको पहिलो खेलमा काँक्रेविहार युथ क्लबले तनहुँको हैरान्स क्लबलाई ३–२ गोल अन्तरले हराएको हो । काँक्रेविहारका लागि सुजन बलाम्पकी मगरले पहिलो हाफको ३२ औं मिनेटमा, अनिश चापागाईंले ४२ औं मिनेटमा र अनिश घर्ती क्षेत्रीले ६८ औं मिनेटमा गोल गरे । हैरान्सका लागि समीराज थोकरले ५८ औं मिनेटमा र विश्व लामाले ८४ औं मिनेटमा गोल गरे । प्लेयर अफ दी म्याच काँक्रेविहारका रोहन कार्की भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे।
यसैगरी दोस्रो खेलमा दोलखाको टाइगर्स टिमले उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ गोलले हरायो । टाइगर्सका लागि सुशन लामाले १२ औं र अनिश श्रेष्ठले ४३ औं मिनेटमा गोल गरे । गाईघाटका लागि युगन राईले २८ औं मिनेटमा सान्त्वना गोल फर्काए । प्लेयर अफ दी म्याच टाइगर्सका सुशन भए ।
लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । हेटौंडा–६ गौरीटार रंगशालामा संचालन भइरहेको प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
