आईसीसी एकेडेमी, दुबईमा सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जितविहीन भएको हो ।
काठमाडौँ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ। यससँगै नेपाल यस लिगको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जितविहीन बनेको छ।
आईसीसी एकेडेमी, दुबईमा सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जितविहीन भएको हो । यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार विकेटले तथा युएईसँग पाँच विकेटले पराजित भएको थियो।
आज नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्यो।
युएईका लागि मोहम्मद शहदादले १२३ बलमा ६ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ९६ रन बनाए। त्यस्तै मोहम्मद वासिमले ७३ बलमा ४ चौका र ३ छक्कासहित ७६ रन, सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ र हर्षित कौशिकले १३ रनको योगदान दिए।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको थियो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए। त्यस्तै कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० तथा सन्दीप लामिछानेले अविजित १५ रन बनाए।
युएईका लागि जुनैद सिद्दीकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले समान २–२ विकेट लिए भने जाहिद अलीले १ विकेट लिए।
यस हारसँगै २० खेलमा १२ अङ्क जोडेको नेपाल अंकतालिकाको सातौँ स्थानमा पुगेको छ। जितसँगै युएई समान खेलबाट १० अङ्कसहित अन्तिम स्थानमा छ।
