रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा, पाहुना टोली सिक्किम ७–० ले पराजित

सुरुवातदेखि नै बलको नियन्त्रणमा रहेको एपीएफले २९औं मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो ।

कार्तिक १८, २०८२

पर्वत पोर्तेल

Rashmiko's hat-trick takes APF into semi-finals, hosts Sikkim defeated 7-0

विराटनगर — झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी झापा महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौंले मंगलबार उत्कृष्ट प्रदर्शन गर्दै पाहुना टोली सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै घर फर्काएको छ । यससँगै एपीएफले सहज रूपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

सुरुवातदेखि नै बलको नियन्त्रणमा रहेको एपीएफले २९औं मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो । त्यसपछि ३८औं मिनेटमा अनिता बस्नेतले सरु लिम्बुको हेडर मिस भएको बल फिनिस गर्दै दोस्रो गोल थपिन् ।

पहिलो हाफको इन्ज्युरी समयमा एपीएफले थप २ गोल गर्‍यो । ४१औं मिनेटमा रश्मिकुमारी घिसिङ र त्यसपछि इन्ज्युरी समयमा बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोरलाई ५–० बनाइन् ।

दोस्रो हाफमा पनि एपीएफको आक्रमण रोकिएन । ७१औं मिनेटमा अनिता केसीले सविता रानाको क्रसमा गोल गरिन् भने ८४औं मिनेटमा घिसिङले अनिता केसीको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

सिक्किमकी सुक्रिया मगरले २१औं मिनेटमा गोलको अवसर सिर्जना गरे पनि एपीएफकी गोलरक्षक अञ्जना रानाले सजिलै नियन्त्रण गरिन् । ८०औं मिनेटमा प्राप्त वान–भर्सेस–वान अवसर पनि सुक्रियाले गुमाइन् ।

एपीएफका प्रशिक्षक जिबेश पाण्डेले टोलीले योजना मुताविक नै खेलेको बताए । 'खेलाडीहरूले सुरुदेखि अन्त्यसम्म सन्तुलित र योजनाबद्ध फुटबल खेले,' प्रशिक्षक पाण्डेले भने । 

सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले भने हारलाई सिकाइको अवसरको रूपमा लिएको बताइन् । 'हाम्रो टोली युवा छ, आगामी खेलमा सुधार गरेर फर्किनेछौँ,' प्रशिक्षक भुटियाले प्रतिक्रिया दिइन् । 

उत्कृष्ट प्रदर्शनका लागि घिसिङलाई प्लेयर अफ द म्याच घोषित गरियो । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । 

बुधबारको तेस्रो क्वार्टरफाइनलमा संकटा फुटबल क्लब काठमाडौं र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully