पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
झापा — झापाको शिवसताक्षीमा सोमबारदेखि सुरु भएको पहिलो झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ।
पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
पुलिसतर्फबाट मिना देउवाले पाँच गोल गर्दै ‘स्टार अफ द म्याच’ बनिन् भने रेखा पौडेलले ह्याट्रिक पूरा गर्दै टोलीको जितमा उल्लेखनीय योगदान गरिन्। पहिलो हाफमा नै खेलमा पूर्ण नियन्त्रण जमाएको पुलिसले ३७औँ मिनेटमा रेखा पौडेलको गोलमार्फत खाता खोलेको थियो। दोस्रो हाफमा मिना देउवाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै ५१औँ, ६०औँ, ६२औँ, ६८औँ र ८१औँ मिनेटमा गोल गरिन्। त्यस्तै रेखाले पनि ३७औँ, ८०औँ र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
पुलिसको खेलमा मिडफिल्ड र डिफेन्सबीचको तालमेल उत्कृष्ट देखिएको थियो। चर्च ब्वाइजका केही प्रयास भने पुलिसकी गोलकिपर उषा नाथले निस्तेज पारिन्।
उत्कृष्ट प्रदर्शनका लागि मिना देउवालाई खेलकी ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। उक्त पुरस्कार प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले प्रदान गरेका थिए।
मंगलवार दोस्रो क्वार्टरफाइनल खेलमा एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब (सिक्किम, भारत) बीच प्रतिस्पर्धा हुनेछ। दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, साथै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई पनि १५ हजार रुपैयाँ र ट्रफी दिइनेछ। प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब सहभागी छन्।
