बिगबास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका ब्राउनले टी–२० क्रिकेटमा४० खेल खेल्दै ९४५ रन बनाएका छन् ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीमा अस्ट्रेलियाका ब्याटर जोस ब्राउनलाई अनुबन्ध गरेको छ ।
बिगबास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका ब्राउनले टी–२० क्रिकेटमा४० खेल खेल्दै ९४५ रन बनाएका छन् । जोसले टी–२० मा सर्वाधिक १४० रन बनाएका छन् । टी–२० मा यो स्कोर कमै खेलाडीले मात्र बनाएका छन् ।
‘एनपीएल खेल्न आउने खबरले धेरै उत्साही छु, नेपाली समर्थकलाई छिट्टै भेट्ने छु,’ ब्राउनले रोयल्सको विज्ञप्तिमार्फत भनेका छन् ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त बताए ।
सुदूरपश्चिम टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हरमित सिंह र जोस ब्राउन छन् । मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।
