एन्फा प्रेसिडेन्ट लिग बुधबारबाट

लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

कार्तिक १७, २०८२

प्रताप विष्ट

ANFA President's League from Wednesday

हेटौंडा — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा बुधबारदेखि एन्फा प्रेसिडेन्ट लिग सुरु हुने भएको छ ।

हेटौंडामा एन्फाले सोमबार पत्रकार सम्मेलन गरेर एन्फा प्रेसिडेन्ट लिगबारे जानकारी दिएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने बताए । गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृति (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा) र लालीगुराँस एशोसिएसन क्लब (कास्की) सहभागी छन् ।

प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । सेमिफाइनलमा पुग्ने चार टिमले राष्ट्रिय लिगमा सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने एन्फाका केन्द्रीय सदस्य तथा प्रतियोगिताका संयोजक टिकाराम लामाले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully