अमेरिकाको ‘क्लिन स्विप’

अमेरिकाले सोमबार यूएईलाई २ सय ४३ रनले पराजित गर्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिमा अमेरिकाको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि क्यानडासँग पाएको १ सय ६९ रनको जित अमेरिकाको एकदिवसीय अन्तर्राष्ट्रियमा ठूलो जित थियो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

America's 'clean sweep'

काठमाडौँ — अमेरिकाले यूएईमा भइरहेको विश्वकप क्रिकेट लिग २ शृंखला ‘क्लिन स्विप’ गरेको छ । नेपाल र यूएईसम्मिलित शृंखलामा अमेरिकाले सबै ४ खेल जितेर लिग २ को शीर्षस्थान थप मजबुत बनाएको हो ।

अमेरिकाले सोमबार यूएईलाई २ सय ४३ रनले पराजित गर्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिमा अमेरिकाको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि क्यानडासँग पाएको १ सय ६९ रनको जित अमेरिकाको एकदिवसीय अन्तर्राष्ट्रियमा ठूलो जित थियो ।

नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको अमेरिकाले दुबईमा सम्पन्न लिग २ मा नेपाललाई क्रमशः १०६ रन र ४ विकेटले पराजित गरेको थियो । त्यस्तै अघिल्लो खेलमा अमेरिकाले यूएईलाई ४ विकेटले हराएको थियो ।

टस हारेर ब्याटिङमा आएको अमेरिकाले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २८ रन बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा साइतेजा मुकामल्ला र मिलिन्द कुमारले चौथो विकेटमा कीर्तिमानी अविजित २ सय ६४ रनको साझेदारी गरे । अमेरिकाको कुनै पनि विकेटका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा यो ठूलो साझेदारी हो ।

प्लेयर अफ द म्याच मुकामल्लाले १ सय ४९ बलमा अविजित १ सय ३७ रन बनाए । उनले १० चौका र ३ छक्का प्रहार गरे । अघिल्ला तीनै खेलमा अर्धशतक बनाएका मिलिन्दले १ सय २५ बलमा ११ चौका र १ छक्कासहित १ सय २३ रन बनाए । मुकामल्ला र मिलिन्दको प्रयासमा अमेरिकाले ३ विकेट गुमाई २ सय ९२ रन बनायो ।

जबाफमा यूएई २८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो र टोली एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरको नकारात्मक कीर्तिमानको संघारमा थियो । नेपालले २०२० मा अमेरिकालाई कीर्तिपुर र श्रीलंकाले २००२ मा हरारेमा जिम्बावेलाई समान ३५ रनमा अलआउट गरेको थियो, जुन यसअघिको सबैभन्दा न्युन स्कोरको कीर्तिमान थियो ।

तर १० औं नम्बरमा ब्याटिङ गरेका जुनैद सिद्दिकीले १० रन बनाएपछि यूएई सबैभन्दा न्युन स्कोरबाट माथि उठेको हो । टोली अन्ततः २२.१ ओभरमा ४९ रनमा अलआउट भयो । सिद्दिकीले १० रनबाहेक यूएईबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । अमेरिकाका रुशी उगारकरले ८.१ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए । सौरभ नेत्राभाल्करले ३ तथा शुभम रन्जने र मिलिन्दले १–१ विकेट लिए ।

अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्षस्थानमा छ र टोली दोस्रो स्थानको स्कटल्यान्डभन्दा ६ अंकले अगाडि छ । ८ राष्ट्र प्रतिस्पर्धी लिग २ मा नेपाल १९ खेलमा १२ अंक बटुल्दै सातौं र यूएई ८ अंकसहित आठौं स्थानमा छ । नेपाल र यूएई बुधबार यस शृंखलाको अन्तिम खेलमा भिड्दै छन् ।

कान्तिपुर

Link copied successfully