उनको नेतृत्वमा न्युजिल्यान्डले दुई पटक ट्वान्टी–ट्वान्टी विश्वकपमा सेमिफाइनल (२०१६ र २०२२) र एक पटक सन् २०२१ मा फाइनलमा स्थान बनाएको थियो ।
काठमाडौँ — न्युजिल्यान्डका क्रिकेटर केन विलियमसनले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । न्युजिल्यान्ड क्रिकेट बोर्डले उनको संन्यासको पुष्टि गरेको हो ।
विलियमसनले न्युजिल्यान्डका लागि ९३ ट्वान्टी–ट्वान्टी खेल खेलेका छन् । जसमा उनले २ हजार ५ सय ७५ रन बनाएका छन् ।
विलियमसनले सन् २०११ मा ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । र ७५ खेलमा उनले कप्तानीसमेत सम्हालेका थिए ।
उनको नेतृत्वमा न्युजिल्यान्डले दुई पटक ट्वान्टी–ट्वान्टी विश्वकपमा सेमिफाइनल (२०१६ र २०२२) र एक पटक सन् २०२१ मा फाइनलमा स्थान बनाएको थियो ।
न्युजिल्यान्ड क्रिकेटका अनुसार विलियमसनले आफ्नो संन्यासबारे भनेका छन्, ‘छोटो फर्म्याटबाट अलग हुने समय यही हो ।’
उनले अघि भनेका छन्, ‘मलाई यसको हिस्सा बन्न लामो समयदेखि नै मन परिरहेको थियो । यी याद र अनुभवका लागि म निकै आभारी छु । यो मेरा लागि र टिमका लागि सही समय हो । मेरो निर्णयका कारण आगामी सिरिज र अघिल्लो लक्ष्य अर्थात् ट्वान्टी–ट्वान्टी विश्वकपअघि टिमलाई क्लियारिटी मिल्नेछ ।’
साथै उनले हालका कप्तान मिशेल सेन्टनरको पति प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘मिच शानदार कप्तान र लिडर हुन् । उनले यस टिमसँग वास्तवमै राम्रो काम गरेका छन् ।’
