लुम्बिनीको एन्थेम सार्वजनिक

नपीएल ट्रफी टुर अहिले लुम्बिनी प्रदेशमा चलिरहेको अवसरमा लायन्सले आफ्नो आधिकारिक गीत पनि सार्वजनिक गरेको हो ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Lumbini's anthem released

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पूर्वसन्ध्यामा आफ्नो आधिकारिक गीत ‘स्याबास’ सार्वजनिक गरेको छ । एनपीएल ट्रफी टुर अहिले लुम्बिनी प्रदेशमा चलिरहेको अवसरमा लायन्सले आफ्नो आधिकारिक गीत पनि सार्वजनिक गरेको हो ।

बुद्ध दर्शन र खेललाई एउटै बिम्बमा उत्रिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ । यो एन्थम मुख्यतः दर्शकको भावबाट लेखिएको यसका सर्जक नवराज पराजुलीले लायन्सको विज्ञप्तिमा जनाएका छन् । मैदानमा हुने ११ खेलाडीजस्तै मैदान बाहिरका दर्शक पनि खेलमा होमिएका हुने र ती दर्शकलाई बाह्रौं खेलाडीका रूपमा एन्थममा समेटिएको पराजुलीले जनाएका छन् ।

‘हामी लुम्बिनीको बाह्रौं खेलाडी बन्छौं, आफैं आफ्नो काँधमा धाप मारेर भन्छौं, स्याबास’ गीतको शब्द रहेको छ । बुद्ध दर्शनमा भएको ध्यान र श्वासको महानतालाई खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको जनाइएको छ । एन्थेमको संगीत संयोजन उज्ज्वल सागरले र लिरिकल भिडियो निर्माण विवेक निसानीले गरेका हुन् । 

कान्तिपुर

Link copied successfully