नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरी च्याम्पिनसिपका पदक विजेता खेलाडीका लागि निःशुल्क हुने भएको छ ।
नेपालगन्ज — दोस्रो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पिनसिप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले हात पारेको छ ।
नेपालगन्ज स्विमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक ल्याएर उपाधि जितेको हो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जीसीले प्रथम ट्रफी हस्तान्तरण गरेका थिए ।
प्रतियोेगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तेस्रो भएको छ । त्यसैगरी लिटिल एन्जेल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, नेपालगन्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक ल्याएको क्षेत्रीले जानकारी दिए ।
यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ पदक जितेका थिए । कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । उनीहरुलाई जनही पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।
आयोजक नेपालगन्ज स्विमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सकेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने ऊर्जा मिलेको बताए ।
नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठले नेपालगन्ज स्विमिङ क्लबसँग सहकार्य गरेर यस क्षेत्रमा पौडीको विकासमा लाग्ने पनि बताए ।
प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको थियो । नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरी च्याम्पिनसिपका पदक विजेता खेलाडीका लागि निःशुल्क हुने भएको छ ।
नेपाल पौडी संघ, नेपालगन्ज स्विमिङ क्लबका पदाधिकारी र सदस्यहरुबीचको छलफलका क्रममा मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले यस क्षेत्रमा पौडी खेलको विकासका लागि पदकधारी खेलाडीलाई पोखरी निःशुल्क रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।
