आयोजक चन्दननाथ युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जनसेवाले उपाधि जितेको हो ।
जुम्ला — जुम्लामा सञ्चालित जिल्लास्तरीय फुटबलको उपाधि चन्दननाथ नगरपालिका-६ स्थित जनसेवा युवा क्लबले चुमेको छ ।
आयोजक चन्दननाथ युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जनसेवाले उपाधि जितेको हो । नेपाली सेनाको टुँडिखेल मैदानमा भएको खेल अवधिभर दुवै टिमले गोल गर्न सकेनन् । दुवै टिमको बराबरीमा पेनाल्टी सुटआउटको माध्यमबाट फुटबल खेलाइएको थियो ।
सेमिफाइनलमा चन्दननाथ-३ ले फोइकालिका र जनसेवाले घोगेसिम युवा क्लबलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका थिए । विजेता जनसेवाले एक लाख एक हजार रुपैयाँ पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी पाएको छ । चन्दननाथले ५० हजार ५ सय रुपैयाँ, मेडल, प्रमाणपत्र प्राप्त गर्दै उपविजेता बनेको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा ४४ टिमले सहभागिता जनाएका थिए ।
आयोजक चन्दननाथ-३ का वडाध्यक्ष रतनबहादुर बुढ्थापाले सात सय खेलाडी खेलकुद मैदानमा होमिएको बताए । उनले भने, ‘फुटबल खेलप्रति खेलाडीहरुको आकर्षण तीव्र देखियो । दर्शकको क्रेज झनै लोभलाग्दो देखियो ।’
हजारौं दर्शकबीच फाइनल खेल सकिएको प्रतियोगिताका संयोजक राजबहादुर खत्रीले जानकारी दिए ।
