सुदूरपश्चिमले गत वर्ष फाइनलसम्मको यात्रा गर्दा हरमित सिंहले ५ खेलमा ८ विकेट लिएका थिए ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउन्डर हरमित सिंहलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) लाई पुनः अनुबन्ध गरेको छ । सुदूरपश्चिमले गत वर्ष फाइनलसम्मको यात्रा गर्दा हरमितले ५ खेलमा ८ विकेट लिएका थिए ।
उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी थिए । उनले प्रतिओभर ४.५० को हिसाबमा मात्र रन खर्चेका थिए । अनुबन्धनपछि हरमितले सुदूरपश्चिमको विज्ञप्तिमा भनेका छन्, ‘म नेपाल प्रिमियर लिगमा फेरि एक पटक फर्किंदै छु । गत सिजनको अधुरो कामलाई यस पटक पूरा गर्नु छ । समर्थकहरूसँग छिट्टै भेट हुनेछ ।’
हरमित अहिले अमेरिकाको टोलीसँग यूएईमा विश्वकप लिग २ खेलिरहेका छन् । उनको उच्च प्रदर्शनमा अमेरिकाले दुबईमा पहिलो ३ खेल जितिसकेको छ । नेपालविरुद्धको दुई खेलमा उनले क्रमशः ६ विकेट र अविजित २७ रन तथा अविजित १३ रन र ३ विकेट लिएका थिए । त्यस्तै यूएईविरुद्ध उनले अविजित १४ रन बनाएका थिए ।
सुदूरपश्चिमले भित्र्याएका हरमित तेस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले अस्ट्रेलियाका क्रिस लिन र न्युजिल्यान्डका स्कट कुग्गेलिइनलाई लिइसकेको छ । कुग्गेलिइन पनि गत वर्ष सुदूरपश्चिमकै टोलीमा थिए ।
