‘गल्फ फर अल’ अभियानअन्तर्गत प्रतिभाशाली युवा गल्फर अवानी राईलाई व्यावसायिक तालिम र अध्ययनका लागि प्रायोजन गर्ने घोषणासहित यो प्रतियोगिता आयोजना गरिएको थियो ।
काठमाडौँ — सत्यज्योत राणाले हिमालयन स्विङ ओपन च्यारिटी गल्फ प्रतियोगिता जितेका छन् । रोटरी क्लब अफ हिमालयन गल्फर्सले उदीयमान महिला गल्फरहरूको सहयोगका लागि गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा शनिबार आयोजना गरेको प्रतियोगितामा सत्यज्योतले प्रभावशाली ४४ स्टेबलफोर्ड अंक बटुलेका थिए ।
रोबिन राणा ३६ अंकसहित दोस्रो भए । फुन्टशोक एन लामाले ३५ ग्रस स्कोरसहित उत्कृष्ट ग्रसको उपाधि र सर्वाधिक बर्डिजको उपाधि जिते । उनले ६ बर्डिज गरेका थिए । सिनियरतर्फको उपाधि टीजी श्रेष्ठले ३१ अंक जोड्दै जिते । अनिरुद्ध सिंहले २९ स्कोर गरेका थिए ।
‘गल्फ फर अल’ अभियानअन्तर्गत प्रतिभाशाली युवा गल्फर अवानी राईलाई व्यावसायिक तालिम र अध्ययनका लागि प्रायोजन गर्ने घोषणासहित यो प्रतियोगिता आयोजना गरिएको थियो ।
अवानीले नै महिलातर्फको यो उपाधि जितिन् । उनले ३२ स्कोर गरेकी थिइन् । सम्झना खत्री ३१ अंकसहित दोस्रो भइन् ।
रवीन्द्र तिवारीले रोटरियनतर्फको उपाधि जिते । विपना श्रेष्ठ र सोम गुरुङले क्रमशः क्लोजेस्ट टु द पिन र लङगेस्ट ड्राइभको उपाधि जिते । स्टेबलफोर्ड फर्म्याट १८ होलमा खेलिएको प्रतियोगितामा ८ महिलासहित १ सय ३ गल्फ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हाले विजयी खेलाडीलाई पुरस्कृत गरे ।
यो अभियानअन्तर्गत अवानीले भारतको कर्णाटकस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा पहिलो चरणमा एकमहिने प्रशिक्षण लिनेछिन् ।
