पोखरा रंगशालाको फुटबल स्टेडियममा हुने कन्सर्टका लागि टिमले पहिलो १ हजार समर्थकलाई ९९९ रुपैयाँमै जर्सी दिने घोषणा गरिएको थियो ।
पाेखरा — नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्न राखिएको विशेष जर्सी १३ घण्टामै ‘सोल्डआउट’ भएको छ ।
‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ (शुक्रबार) पोखरा रंगशालाको फुटबल स्टेडियममा हुने कन्सर्टका लागि टिमले पहिलो १ हजार समर्थकलाई ९९९ रुपैयाँमै जर्सी दिने घोषणा गरेको थियो । बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मैसबै जर्सी बिक्री भइसकेको पोखरा एभेन्जर्सले जनाएको छ ।
‘पोखरा एभेन्जर्स र नेपथ्यप्रतिको माया र उत्साहले हामी उत्साही छौं,’ पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने, ‘१३ घण्टामै १ हजार जर्सी बिक्री हुनु पोखराका क्रिकेट समर्थक र संगीतप्रेमी दुवैका लागि गर्वको विषय हो । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं ।’
कन्सर्टमा प्रवेशका लागि टिकट पर्ने छैन । पोखरा एभेन्जर्सको जर्सी खरिद गरेका समर्थकले मात्र कन्सर्टमा सहभागी हुन पाउँछन् ।
जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने एभेन्जर्सले जनाएको छ । मंसिर १ देखि हुने एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर भइरहेको छ ।
मंगलबार पोखरामा ट्रफी प्रर्दशन गर्ने क्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले ५० वर्ष अगाडिको पोखरामा खेलकुदका लागि केही पूर्वाधार नभएको स्मरण गर्दै पोखरामा बनेको रंगशालाले खेलाडी र खेलप्रेमीमा उर्जा थपेको बताएका थिए । ‘नेपालको क्रिकेट जुन लेभलमा छ, त्यो गौरव गर्न लायक छ । अबको तयारी र खेल विश्वकप जित्ने लक्ष्यसहित हुनुपर्छ । हाम्रो शुभकामना छ,’ उनले भने ।
