अलराउन्डर बेन चार्ल्सवर्थलाई भित्र्याएको गोर्खाजले शनिबार जनाएको हो ।
काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडी अनुबन्धन गरेको छ । अलराउन्डर बेन चार्ल्सवर्थलाई भित्र्याएको गोर्खाजले शनिबार जनाएको हो ।
देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने २४ वर्षे अलराउन्डरले ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन् । इंग्ल्यान्डबाट यू–१९ मा प्रतिनिधित्व गरिसकेका चार्ल्सवर्थ गत सिजन यूएईको आईएल टी–२० मा एमआई इमिरेट्स टोलीमा थिए ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकी विकेटकिपरट्टब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई यस सिजनलाई अनुबन्धन गरिसकेको छ ।
चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनी निरन्तर सोही टोलीबाट काउन्टीमा खेल्दै आएका छन् र ५७ खेलमा ३१ माथिको औसतमा २७५४ रन बनाइसकेका छन् । त्यसमा ४ शतक र १५ अर्धशतक छ । उनले ३० विकेट पनि लिएका छन् ।
चार्ल्सवर्थ २८ लिस्ट ‘ए’ खेलमा १ हजार रनको आँकडा छुनेक्रममा छन् । ट्वान्टी–२० मा उनले ४४ खेलमा ३ अर्धशतकसहित ७७६ रन बनाइसकेका छन् । उनले १४५ माथिको स्ट्राइक रेटमा यो रन बनाएका हुन् । उनले खेलेका ट्वान्टी–२० का सबै खेल भाइटालिटी ब्लास्टको हो ।
