रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा २ शतक बनाउने पहिलो नेपाली
What you should know
काठमाडौँ — रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी बनेका छन् । त्यसका बाबजुद नेपालले विश्वकप लिग २ क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ । यूएईले बिहीबार दुबईमा नेपाललाई ५ विकेटले पराजित गर्यो ।
रोहितले यूएईविरुद्ध १ सय ९ रन बनाउँदै यो उपलब्धि छोएका थिए । रोहितको प्रयासमा नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको थियो । टस जितेर ब्याटिङ रोजेको नेपाल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पूरा ५० ओभर खेली २ सय ३३ रनमा अलआउट भएको थियो ।
ओपनर आर्यन्स शर्माले प्रतिबलको हिसाबमा खेल्दै ९८ रन बनाएपछि यूएईले ४३.३ ओभरमै २ सय ३७ रन बनाएको थियो । प्लेयर अफ द म्याच शर्माले १० चौका र ३ छक्का प्रहार गरे । शर्मालाई सन्दीप लामिछानेले रिटर्न क्याचमा पेभेलियन फर्काए । उनका ओपनिङ जोडी अलिसान सराफुले २६ बल खेली ६ चौका र ३ छक्कासहित ४५ रन बनाएका थिए । नेपालबाट सन्दीपले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि रोहितसँगै पारस खड्का, कुशल भुर्तेल, अनिलकुमार साह, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन् २०१९ मा पछिल्लो पटक यस मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा कप्तान पारसले शतक बनाएका थिए, जुन नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक पनि थियो ।
रोहितले २०२२ मा पपुवा न्यु गिनीविरुद्ध १ सय २६ रन बनाएका थिए, जुन नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर हो । त्यो खेलमा पनि नेपालले ६ रनको पराजय भोगेको थियो । रोहितले कप्तानका रूपमा एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएका हुन् ।
रोहित यसअघि दुई पटक नाइनटिजको स्कोरमा रोकिएका थिए । २०२२ मा उनले कीर्तिपुरमा स्कटल्यान्डविरुद्ध अविजित ९५ रन बनाएका थिए । त्यस्तै गत वर्ष डालासमा अमेरिकाविरुद्ध ९६ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भएका थिए ।
रोहितबाहेक बिहीबारको खेलमा नेपालबाट भुर्तेल ७, आसिफ शेख ३५, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, सोमपाल कामी ६ र करणले १३ रन बनाई आउट भएका थिए । गुलशन झाले खाता खोल्न सकेनन् । नेपालले शनिबार अमेरिकासँग यस शृंखलाको तेस्रो खेल खेल्नेछ ।
