सातै प्रदेशका खेलाडी सहभागी हुने प्रतियोगितामा ५६ वटा इभेन्ट सञ्चालन हुनेछन् ।
काठमाडौँ — नेपालगन्जमा दोस्रो राष्ट्रिय स्विमिङ च्याम्पियनसिप २०२५ आयोजना हुने भएको छ । नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते हुने प्रतियोगितामा देशभरका करिब २ सय खेलाडी सहभागी हुनेछन्।
विद्यालयस्तरका अन्डर ८, १०, १२, १४, १७ र खुला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा अन्डर ८ समूहले २५ मिटर, अन्डर १० समूहले ५० मिटर, अन्डर १२ र १४ समूहले ५० तथा १०० मिटर, र खुला समूहले २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार सातै प्रदेशका खेलाडीहरू सहभागी हुनेछन् । उनले प्रतियोगितामा ५६ वटा इभेन्ट सञ्चालन हुने जानकारी दिए ।
करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता नेपाल पौडी संघको वार्षिक क्यालेन्डरमा समावेश भएको पहिलो राष्ट्रिय संस्करण हो । तर, नेपालगन्ज स्विमिङ क्लबका लागि भने यो दोस्रो संस्करण हो । गत वर्ष क्लबले प्रदेशस्तरीय च्याम्पियनसिप आयोजना गरेको थियो । यस पटक राष्ट्रिय स्तरमा रूपान्तरण गर्न क्लबले प्रदेश सरकारसँग सहकार्यको पहल गरेको क्लबका सदस्य कृष्ण अधिकारीले जानकारी दिए ।
