काठमान्डु गोर्खाज र शिखर इन्स्योरेन्सको सम्झौता

गोर्खाजले एनपीएल खेल्दा आफ्नो जर्सीको दुवै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो लगाएर खेल्नेछ ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Gorkhas and Shikhar Insurance sign agreement

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता गरेको छ । गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरका रूपमा भित्र्याएको जनाएको छ ।

गोर्खाजले एनपीएल खेल्दा आफ्नो जर्सीको दुवै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो लगाएर खेल्नेछ ।

यसका लागि गोर्खाज र शिखर इन्स्योरेन्सबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए । दुवैले आर्थिक पक्ष भने खुलाएका छैनन् । 

गत वर्ष पहिलो सिजनको एनपीएलमा पनि शिखर इन्स्योरेन्स काठमान्डु गोर्खाजको सहप्रायोजक रहेको थियो । गोर्खाजले यसअघि नै मुख्य प्रायोजकका रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ । 

करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजको टोलीका खेलाडीहरूमा भीम सार्की, साहव आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा रहेका छन् । टोलीले विदेशी खेलाडीमा इंग्ल्यान्डमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र उत्कृष्ट लयमा रहेका अमेरिकाका मिलिन्द कुमारलाई लिइसकेको छ । 

कान्तिपुर

Link copied successfully