टाइब्रेकरमा अञ्जनाको नायकत्व

गोलकिपर अञ्जनाले दुई पेनाल्टी रोकेपछि सिक्किममा भारतविरुद्ध नेपाललाई सफलता

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Anjana's heroism in the tiebreaker

What you should know

काठमाडौँ — नेपाली गोलरक्षक अञ्जना रानागमरले फेरि एकपल्ट आफूलाई प्रमाणित गरिन् । पेनाल्टी शुटआउट हुनुपर्छ र पोस्टको जिम्मा उनले पाउनुपर्छ, जित नेपालकै हुन्छ । भलै, यो खेल औपचारिक मान्यताप्राप्त औपचारिक थिएन ।

तर, एउटा खेलमा हुनुपर्ने सबै खाले रोमाञ्च र सनसनी भने थियो । त्यसैले नेपालले बुधबार सिक्किममा भएको मैत्रीपूर्ण खेलमा भारतलाई टाइब्रेकरमा ३–० ले हराएको छ । 

सिक्किमको पाल्जोर स्टेडियममा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि विजयी टिमको छनोटका लागि पेनाल्टी शुटआउटको सहारा लिइएको थियो । त्यसमा भारतको तीनै प्रहार गोलमा परिणत हुन सकेन । त्यसमध्ये दुई प्रहार अञ्जनाले रोकिन् भने एक अर्को प्रहार बाहिरियो । प्रियादर्शनी र एस्टम ओरमको प्रहार अञ्जनाले सजिलै रोकेकी हुन् । 

त्यसमध्ये पनि एस्टमको प्रहार कति धेरै फितलो थियो भने त्यसलाई अञ्जनाले खुट्टाले नै रोकेकी थिइन् । सन्तोषको प्रहारले भने पोस्टको दिशा पनि लिन सकेन । अर्कोतर्फ नेपालका लागि सविता रानागमर, रश्मिकुमारी घिसिङ र निशा थोकरको प्रहार गोलमा 

परिणत भयो । ती तीनै प्रहारमा भारतीय गोलरक्षक सोमियासामु बचाउको कुनै पनि अवसर थिएन । कप्तानको भूमिकामा रहेकी अनिता बस्नेतको प्रहार भने गोलमा परिणत हुन सकेन । 

त्यो प्रहारले पोस्टको बाहिरी दिशा लिएको थियो । उनको त्यो प्रहार गोल भएको भए निशाको चौथो प्रहार पनि आवश्यक पर्ने थिएन । निर्धारित समयको खेल बराबरीमा टुंगिने भएपछि अञ्जनालाई सब्स्टिच्युट खेलाडीका रूपमा मैदान उतारिएको थियो । उनले त्यो निर्णयलाई फेरि एकपल्ट सही साबित गरिन् । यो प्रदर्शनले गत वर्ष काठमाडौंमा भएको साफ च्याम्पिनयसिपको सेमिफाइनलमा नेपालले भारतलाई नै हराएको खेलको स्मरण गराएको छ । 

त्यो खेलको निर्धारित र अतिरिक्त समयको खेल बराबरी टुंगिएपछि टाइब्रेकर आवश्यक परेको थियो र त्यसमा पनि अञ्जना नै नायिक साबित भएकी थिइन् । उनले सन् २०२३ मा बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल बराबरीमा टुंगेपछि पनि टाइब्रेकरमा नेपाललाई शृंखला जित दिलाएकी थिइन् । यसरी अञ्जनाले लगातार तीन टाइब्रेकरमा नेपाललाई जित दिलाएकी छन् । 

यसअघि भारतले सौम्या गुगुलोथको गोलमा पहिलो हाफको ३० औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा नेपाल टिम बराबरी गोल फर्काउन सफल रह्यो । अनिताको कर्नर प्रहारमा रश्मिकुमारीले हेड गर्दै बललाई पोस्टका दिशा दिएकी हुन् । 

प्रशिक्षक नवीन न्यौपानेले यो खेलका लागि नेपालको पूर्णतः नयाँ टिम उतारेका थिए र यसक्रममा नयाँ र कम अनुभवी खेलाडीलाई मौका दिएका थिए । भारतविरुद्धकै पछिल्लो खेलको सुरुआती टिमबाट १० परिवर्तन गरेर टिम उतारिएको थियो, उनीहरूले नेपाललाई निराश बनाएनन् र एक गोलले पछाडि रहेको स्थितिबाट टाइब्रेकरमा जित दिलाए । 

यससँगै नेपालको भारत भ्रमण टुंगिएको छ । थ्री नेसन्स कपमा आफ्नो पहिलो खेलमा इरानसँग ३–० ले पराजित नेपालले दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully