जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरतबहादुर बुढथापाले जिल्लाका २६ सामुदायिक र निजी विद्यालयमा ६ सय २५ वटा बल प्रदान गरेको बताए ।
What you should know
जुम्ला — फुटबललाई विद्यालय स्तरसम्म पुर्याउन जुम्लामा स्कुलका लागि फुटबल अभियान सुरु भएको छ । जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा बल दिएर स्कुलका लागि फुटबल अभियान सुरु गरिएको हो ।
जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरतबहादुर बुढथापाले जिल्लाका २६ सामुदायिक र निजी विद्यालयमा ६ सय २५ वटा बल प्रदान गरेको बताए ।
टुँडिखेल मैदानमा विद्यार्थी र शिक्षक भेला गरेर बल हस्तान्तरण गरिएको थियो । अखिल नेपाल फुटबल संघले जिल्ला फुटबल संघमार्फत विद्यालयमा बल उपलब्ध गराएको हो । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले यो अभियानले दूरदराजका बस्तीमा पनि फुटबलको आकर्षण बढाउने बताए ।
बालबालिकालाई कुलतबाट जोगाउन, सामाजिक एकता कायम गर्न र खेलकुदको माध्यमबाट सुमधुर सम्बन्ध स्थापित गराउन स्कुलका लागि फुटबल अभियान सुरु भएको हो । अध्यक्ष नेम्वाङले देशका १ हजार ७५ विद्यालयमा बल वितरण गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार कर्णालीका ६५ विद्यालयले बल पाउनेछ । त्यसमा सबैभन्दा बढी विद्यालय जुम्लाको छनोटमा परेको छ ।
‘अहिले फुटबल क्रेज गाउँगाउँसम्म पुगेको छ,’ उनले भने, ‘अब गाउँबाट खेलाडी उत्पादन गरेर सहर पुर्याउने हिसाबले यो कार्यक्रम सुरु भएको हो ।’
जुम्लामा कुल १८० विद्यालय छन् । यस पटक तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातारासी गाउँपालिकाका गरेर २६ विद्यालय छनोटमा परेको छ । माविलाई २५, निमाविलाई १० देखि १५ सम्म र आधारभूत विद्यालयलाई ५ देखि ७ वटासम्म दिइएको हो ।
खेलकुद मैदान, फुटबलप्रति विद्यार्थीको लगाव र विद्यालयको फुटबलप्रतिको चासोको आधारमा बल वितरण गरिएको हो । जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष बुढथापाले ५ हजार ५ सय रुपैयाँ मूल्य पर्ने बल निःशुल्क प्रदान गरिएको बताए । ‘पटक पटक फुटबल विकासका लागि बजेट व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गर्यौं,’ अध्यक्ष बुढथापाले भने, ‘खेल क्षेत्रको विकासमा सबै स्थानीय सरकार उदासीन देखिए ।’ उनले खेल पूर्वाधारका लागि ठोस योजना तयार गरेर बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
जुम्लाका फुटबल खेलाडीले मैदान अभावका कारण सोचेजस्तो खेल अभ्यास हुन नसकेको बताए । फुटबलप्रति आकर्षण बढे पनि पूर्वाधार अभावले खेल क्षेत्र खुम्चिएको खेलाडीको दुखेसो छ ।
एन्फाका ग्रासरुट हेड कोच पंकज शाहीले खेल क्षेत्रबाट असल नागरिक निर्माण हुनुका साथै समुदायको विकासमा समेत टेवा पुग्ने बताए । कर्णाली प्रदेशसभा सदस्य देबेन्द्रबहादुर शाही, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, नगरउपप्रमुख रामुदेवी खड्कालगायत व्यक्तिले फुटबलको विकासका लागि एकाकार भएर लाग्ने प्रतिबद्धता समेत जनाए ।
