जनकपुर बोल्ट्समा दक्षिण अफ्रिकाका फास्ट बलर पार्नेल

दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर वायन पार्नेल एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्धित भएका छन् ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

South African fast bowler Parnell joins Janakpur Bolts

What you should know

काठमाडौँ — च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्न दक्षिण अफ्रिकाका फास्ट बलर वायने पार्नेल ल्याउने भएको छ । यसका लागि जनकपुर बोल्ट्सले पार्नेलसँग सम्झौता गरिसकेको छ ।

देब्रेहाते ३६ वर्षे पार्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । सोक्रममा उनले १७३ विकेट लिइसकेका छन् । उनले सन् २००६ मा श्रीलंकामा भएको आईसीसी यु–१९ विश्वकप खेलेका थिए भने त्यसको २ वर्षपछि मलेसियामा भएको यु–१९ विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए ।

पार्नेलले इन्डियन प्रिमियर लिगमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट खेलिसकेका छन् । उनीसँग विश्वव्यापी फ्रेन्चाइज लिगमा खेलेको अनुभव छ । सोक्रममा उनले सबैखाले ट्वान्टी–२० का ३ सय खेल खेल्दै ३ सय १७ विकेट लिएका छन् ।

‘म एनपीएल खेल्न जानलाई निकै उत्साहित छु, मैले नेपाली क्रिकेट समर्थकहरूको जोसलाई देखेको छु । एनपीएलको बारेमा पनि धेरै राम्रा पक्षहरू सुनेको छु । जनकपुर बोल्ट्सको उपाधि रक्षा अभियानमा समर्थकहरूको अगाडि खेल्नलाई म आतुर छु । मैदान भित्र होस वा बाहिर जनकपुर बोल्ट्सको एउटा हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु,’ पार्नेलले भने ।

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् । यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ । वेस्ट इन्डिज क्रिकेटका महान हस्ती शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रने छ ।

बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले पार्नेललाई अनुबन्ध गर्न पाउँदा निकै उत्साहित रहेको जनाए । ‘पार्नेलले यु–१९ देखि राष्ट्रिय टोलीबाट खेल्दै लामो अनुभव संगाली विश्व क्रिकेटमा आफ्नो पहिचान बनाएका छन् । यस्तो ठुलो अनुभवले हाम्रो टोलीको उपाधि जोगाउने अभियानलाई बलियो बनाउने छ । नेपाली क्रिकेट प्रेमीलाई उनको विश्व स्तरीय खेल कौशल देखाउने अवसर पाउनु हाम्रो लागि गौरवको कुरा हो । पार्नेलले बोल्ट्स टोलीमा मात्र होइन, नेपाल प्रिमियर लिगमै ठुलो विश्वास पुर्‍याउने छ ।’

जनकपुर बोल्ट्सले आफ्नो प्रशिक्षण क्याम्प अहिले भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ । टोलीका तीन खेलाडी आसिफ शेख, ललित राजवंशी र अनिल साह नेपाली टोलीबाट विश्व क्रिकेट लिग २ खेल्न दुबईमा रहेका छन् । 

कान्तिपुर

Link copied successfully