३१ वर्षीय म्याक्स ओ’डाउडले नेदरल्यान्ड्सबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ८७ खेल खेलिसकेका छन् ।
काठमाडौँ — नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओ’डाउडले दोस्रो सिजनको एनपीएल कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले नेदरल्यान्ड्सका अनुभवी ब्याटर अनुबन्ध गरेको जानकारी गराएका छन् ।
‘हामीले ओपनिङ ब्याटिङ जोडी बलियो बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिवि मैदान र नेपालसँग राम्ररी परिचित छन् । त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ ।’
३१ वर्षीय ओ’डाउडले नेदरल्यान्ड्सबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ८७ खेल खेलिसकेका छन् । त्यसमा उनले २ हजार ३ सय ९ रन बनाएका छन् । उनले एक शतकसहित १६ अर्धशतक बनाएका छन् ।
सन् २०२१ मा कीर्तिपुरको मैदानमै म्याक्सले मलेसियाविरुद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक १ सय ३३ रन बनाएका थिए । गत वर्ष अमेरिकाको डालासमा ट्वान्टी–२० विश्वकपमा उनले नेपालविरुद्ध अविजित ५४ बनाएका थिए । उनले नेदरल्यान्ड्सबाट ६५ एकदिवसीय खेलमा २ हजार १ सय ५३ रन बनाइसकेका छन् ।
यसअघि कर्णालीले स्कटल्यान्डका स्पिनर मार्क वाट र दोस्रो विदेशीको रूपमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो । बोसिस्टो गत सिजन पनि कर्णालीमै थिए भने वाट र ओ’डाउड पहिलो पटक एनपीएल खेल्दैछन् ।
