एरिकालाई नगद एक लाखसहित सम्मान

नेपाल कराँते महासंघले सिरिज वानमा स्वर्ण पदक जितेकी एरिकालाई नगद एक लाख र प्रशिक्षक कुशल श्रेष्ठलाई पचास हजारसहित सम्मान गरेको छ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Erica honored with Rs 100,000 cash

काठमाडौँ — नेपाल सितोरियो कराँते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले अन्तर्राष्ट्रिय पदक विजेता एरिकालाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह, तथा महासचिव दावा लामाले एरिकालाई नगद एक लाख रुपैयाँ र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।

एरिकाले मलेसियामा सम्पन्न सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् । यो सिरिज वानमा नेपालले जितेको पहिलो पदक हो ।

सो अवसरमा संघले इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपका लागि छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरेको थियो ।

कार्यक्रममा नेपाल कराँते महासंघका अध्यक्ष लामाले प्रशिक्षकहरूले आफूलाई निरन्तर अद्यावधिक गर्दै लैजानुपर्ने र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पदक जित्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।

‘पुरानै स्थितिबाट तयार भएर खेल्न गयो भने पदक ल्याउन सहज हुँदैन,’ उनले भने ।

प्रशिक्षक श्रेष्ठले खेलाडीको सफलतामा सम्मानले ठूलो प्रेरणा मिल्ने बताए ।

एरिकाले पनि सबै नकारात्मक पक्ष बिर्सिएर आगामी विश्व कराँते च्याम्पियनसिपका लागि तयार रहेको बताइन् ।

‘विश्व कराँतेमा नेपालप्रति राम्रो छाप बस्दै गएको छ,’ एरिकाले भनिन् ।

कान्तिपुर

Link copied successfully