भारतले नेपाललाई सन् २०१९ यता हराउन सकेको छैन । भारतमाथि नेपालको चौथो जित मात्रै हो ।
काठमाडौँ — नेपालले थ्री नेसन्स कपमा सोमबार भारतमाथि २–१ को सानदार जित निकालेको छ । सिलोङको जवाहरलाल नेहरू स्टेडियममा नेपाली महिला राष्ट्रिय टिमको हात पारेको यस जितमा सावित्रा भण्डारी नायक रहिन् र उनले दुवै गोल गरिन् ।
यससँगै महिला अन्तर्राष्ट्रिय फुटबलमा भारतमाथि नेपालको पछिल्लो समयको प्रभुत्व कायम रह्यो । एसिया कपमा छनोट भएको भारतमाथिको यो जितले नेपाली फुटबल उत्साहित रहनेछ ।
भारतले नेपाललाई सन् २०१९ यता हराउन सकेको छैन । भारतमाथि नेपालको चौथो जित मात्रै हो । सावित्राले खेलको दोस्रो मिनेटमै गोलको खाता खोलिन् र उनले विमला विकको लामो पास सदुपयोग गर्दै गोल गरेकी हुन् । उनको दोस्रो गोल भने ६२ औं मिनेटमा निस्केको थियो र यसका लागि फ्रि–किकको सुन्दर उपयोग गरिन् ।
सावित्राले २० यार्ड भन्दा टाढाबाट गरेको प्रहार चार भारतीय खेलाडीको मानवीय पर्खाललाई कुनै अवसर नदिएर गोलमा परिणत भएको थियो । भारतका लागि करिष्मा पुरुषोत्तमले ८२ औं मिनेटमा एक गोल फर्काइन् ।
सावित्राको नेपालका लागि ५९ खेलमा ६८ औं गोल हो । भारतविरुद्ध मात्रै उनको व्यक्तिगत गोल संख्या १० पुगेको छ । यस जितसँगै नेपालले तीन टिम सम्मिलित प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । नेपालको दुई खेलबाट तीन अंक भएको छ भने भारत शून्य अंकमा पुछारमा रह्यो । इरानले यसअघि नै दुवै खेल जितेर उपाधि चुमिसकेको छ ।
