तरुण गोल्डकपमा कुम्मायक विजयी

फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा फालेलुङ गाउँपालिकालाई सडेन डेथमा हराउँदै कुम्मायक विजयी भएको हो ।

कार्तिक १०, २०८२

लक्ष्मी गौतम

Kummayak wins the Tarun Gold Cup

पाँचथर — तरुण गोल्डकपको आठौं संस्करण सुरु भएको छ । पाँचथरको सदरमुकाम फिदिममा सोमबारदेखि सुरु भएको पहिलो दिनको खेलमा कुम्मायक विजयी भएको छ ।

फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा फालेलुङ गाउँपालिकालाई सडेन डेथमा हराउँदै कुम्मायक विजयी भएको हो ।

खेलमा मध्यान्तरपूर्व कुम्मायकविरुद्ध २ गोल गरेर अग्रस्थानमा रहेको फाल्गुनन्द मध्यान्तरपछि कुम्मायकले जवाफी गोल फर्काएसँगै बराबरीमा रोकिएको थियो । त्यसपछि थपिएको समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेले सडेन डेथबाट कुम्मायकले खेललाई आफ्नो पक्षमा पारेको हो ।

यस्तै दोस्रो खेलमा प्रतिस्पर्धी याङ्वरक गाउँपालिका अनुपस्थित भएपछि फाल्गुनन्द गाउँपालिकालाई वाकओभर दिइएको थियो ।

प्रतियोगितामा मंगलबार हिलिहाङ र तुम्वेवा एवं फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुने छ । 

प्रतियोगितामा पाँचथरको एक नगरपालिका र ७ गाउँपालिका गरी ८ टिम सहभागी छन । प्रतियोगिताको फाइनल कात्तिक १३ मा हुने आयोजक नेपाल तरुण दल पाँचथरले जनाएको छ । 

प्रतियोगिताको विजेताले १ लाख १ सय ७३ रुपैयाँ र उपविजेताले ५० हजार १ सय ७३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन ।

प्रतियोगिता नेपाल तरुण दलको ७३ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन संविधानसभा सदस्य भीष्मराज आङदेम्वेले गरेका थिए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully