अमेरिकाको बोस्टनमा अक्टोबर २६ मा भएको प्रतियोगितामा भूपेन्द्रले तीन फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् ।
काठमाडौँ — मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा तीन पदक जितेका छन् ।अमेरिकाको बोस्टनमा अक्टोबर २६ मा भएको प्रतियोगितामा भूपेन्द्रले तीन फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् ।
वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडेरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छान छ्वानमा स्वर्ण जिते । उनले ताइची छ्वानमा ९.५ अंक र छान छ्वानमा ९.०३३ अंक जोड्दै स्वर्ण जितेका थिए । ताइची छ्वान सर्ट वेप्पनमा रजत जितेका भूपेन्द्रले ९.२ अंक जोडेका थिए । तीनै स्पर्धाको पूर्णाङ्क १० थियो ।
यसअघि उनले अमेरिकाको विभिन्न सहरमा भएका तीन प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए ।
भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका विभिन्न प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् । भूपेन्द्र नेपाल उमा कुङ्फु संघका उपाध्यक्ष पनि हुन् ।
भूपेन्द्रले प्रतियोगितामा सहभागी गराउन प्रेम गुरुङ, लमजुङ सेवा समाज न्युयोर्कका अध्यक्ष गम गुरुङलगायतले सहयोग गरेका थिए ।
