किंग्स र जीएचसीए फाइनलमा

सिफल मैदानमा आइतबार भएको राइजिङ स्टार यू–१४ ब्वाइज क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा किंग्सले ओएसिसलाई १९ रनले र जीएचसीएले काभ्रे एकेडेमीलाई १ सय ४ रनले पराजित गर्‍यो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Kings and GHCA in the finals

What you should know

काठमाडौँ — किंग्स क्रिकेट एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी (ललितपुर) राइजिङ स्टार यू–१४ ब्वाइज क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । सिफल मैदानमा आइतबार भएको सेमिफाइनलमा किंग्सले ओएसिसलाई १९ रनले र जीएचसीएले काभ्रे एकेडेमीलाई १ सय ४ रनले पराजित गर्‍यो ।

पहिला ब्याटिङ गरेको किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६१ रन बनाएको थियो । टोलीबाट शन्तनु बस्नेतले ४२ बलमा ४०, आयुष चालिसेले ३२ बलमा ३६ र एकेन्द्र बुढाले २० बलमा ३३ रन बनाए । ओएसिसका संशय श्रेष्ठ, सौगात सेन्चुरी र नेमस योञ्जनले १–१ विकेट लिए ।

जवाफमा आएको ओएसिस पूरा २० ओभर खेली १ सय ४२ रनमा अलआउट भयो । आरनजंग गिरीले ४० बलमा ४३, नेमेसले २५ बलमा ३२ र विशाल बुढाले ८ बलमा १७ रन बनाए । किंग्सका रिथेम बोहराले ४ ओभरमा ३० रन खर्चेर ४, अभियान खड्का र प्रनिश गिरीले १–१ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा जीएचसीएले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ६९ रन बनाएको थियो । कमल शाहीले ४४ बलमा ५१, शिशिर गिरीले ३१ बलमा ३७, दीक्षान्त मिश्रले २७ बलमा २३ रन बनाए । काभ्रेका रघुवंश राउतले २ र प्रशान्त पौडेलले १ विकेट लिए ।

काभ्रे जवाफमा १०.५ ओभरमै ६५ रनमा अलआउट भयो । रघुवंशले १६ बलमा १५, जयसिस बेकाजुले १४ बलमा १४ र विवेक थापाले ९ रन बनाए । जीएचसीएका कमल शाहीले ३.५ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ५ तथा तन्विर शेख र शिशिर ओलीले १–१ विकेट लिए । 

कान्तिपुर

Link copied successfully