मिक्स रिलेमा पहिलो अन्तर्राष्ट्रिय पदक

भारतको राँची भइरहेको प्रतियोगितामा नेपालले ४ गुणा ४०० मिटर मिक्स रिलेमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

First international medal in mixed relay

काठमाडौँ — दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपको मिक्स रिले दौडमा नेपालले ऐतिहासिक कांस्य पदक जितेको छ । भारतको राँची भइरहेको प्रतियोगितामा नेपालले ४ गुणा ४०० मिटर मिक्स रिलेमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

नेपाललाई उक्त सफलता सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिताकुमारी थारुले दिलाएका हुन् । उनीहरूले ३ मिनेट ३७.१६ सेकेन्डको समय निकालेका थिए । 

नेपालले कांस्य जितेको यस इभेन्टको स्वर्ण भारत (३ मिनेट २०.१३ सेकेन्ड) र रजत श्रीलंका (३ मिनेट २०.८५ सेकेन्ड) ले जितेको थियो ।

च्याम्पियनसिपको पहिला दिन नेपालले जितेको यो तेस्रो पदक हो । यसअघि ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले ५००० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित कांस्य जितिन् । उनले १६ मिनेट ३६.६१ सेकेन्डको नयाँ कीर्तिमान बनाइन् । यसअघि उक्त इभेन्टको कीर्तिमान कान्छीमाया कोजुको नाममा १६ मिनेट ४९.९८ सेकेन्डको थियो । कान्छीमायाले बेइजिङ एसियाली खेलकुदमा उक्त कीर्तिमान बनाएकी थिइन् ।

सन्तोषीले कांस्य जित्दा भारतीय खेलाडी सञ्जनाले स्वर्ण र सीमाले रजत जितेका थिए । सोही दुरीको पुरुषतर्फ नेपालका मुकेश पालले पनि कांस्य जितेका थिए । मुकेशले १४ मिनेट २५.५४ सेकेन्डमा दुरी पार गरेका थिए । नेपालकै अर्का धावक गणेश रावत भने १४ मिनेट ४७.६५ सेकेन्डबाटे पाँचौं स्थानमा रहे । ५०० मिटर पुरुषको स्वर्ण भारतका प्रिन्स कुमार र रजत श्रीलंकाका विक्नराज विक्सनले जितेका थिए ।

कान्तिपुर

Link copied successfully