महिला फुटबलमा इरानले दोस्रो पटक नेपाललाई हराउँदै लगातार दुई खेलमा क्लिनसिट राख्दै फाइनल प्रवेश गरेको छ, नेपालले भारतसँग खेल्न बाँकी छ ।
काठमाडौँ — इरानले त्रिदेशीय वुमेन्स कपमा शुक्रबार नेपाललाई पराजित गर्दै उपाधि जितेको छ । भारत पनि सम्मिलित प्रतियोगितामा लगातार दोस्रो खेल जितेपछि इरान च्याम्पियन भएको हो । भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा इरानले नेपाललाई ३–० ले हराएको हो ।
यसअघि इरानले प्रतियोगिताको पहिलो खेलमा भारतलाई २–० ले हराएको थियो । इरानले दुवै खेल जित्ने क्रममा कुनै गोल खाएन र उपाधिका लागि हकदार रह्यो । अब भारत र नेपालबीच सोमबार खेल हुनेछ । इरानसँगै भारत पनि आउँदा वुमेन्स एसिया कपका लागि छनोट भएका टिम हुन् ।
गोलरहित पहिलो हाफको बराबरीपछि इरानले नेपालमाथि दस मिनेटको अन्तरमा तीन गोल गरेको हो । सारा डिडारले ४९ औं मिनेटमा गोलको खाता खोलिन् । उनले नै ५२ औं मिनेटमा दोस्रो गोल पनि थपिन् । सबनमले ५९ औं मिनेटमा तेस्रो गोल गरिन् ।
त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरे पनि त्यो निर्णायक भने हुन सकेन् र इरान विजयी रह्यो । इरानसँग अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको यो दोस्रो भेट हो । सन् २०१९ मा भारतकै भुवनेश्वरमा भएको वुमेन्स गोल्डकपमा नेपाल इरानविरुद्ध ३–० ले विजयी रहेको थियो, जसमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन् ।
