इरानसँग नेपाल पराजित

गोलरहित पहिलो हाफको बराबरीपछि इरानले १० मिनेटको अन्तरमा ३ गोल गरेको हो ।

कार्तिक ७, २०८२

कान्तिपुर संवाददाता

Nepal defeated by Iran

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिम शुक्रबार त्रिदेशीय कपमा इरानको हातबाट ३–० ले पराजित भएको छ । भारतको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले दोस्रो हाफमा ३ गोल खाएको हो ।

गोलरहित पहिलो हाफको बराबरीपछि इरानले १० मिनेटको अन्तरमा ३ गोल गरेको हो । सारा डिडारले ४९ औं मिनेटमा गोलको खाता खोलिन् । उनले नै ५२ औं मिनेटमा दोस्रो गोल पनि थपिन् ।

सबनमले ५९ औं मिनेटमा तेस्रो गोल गरिन् । त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरे पनि त्यो निर्णायक भने हुन सकेन र इरान विजयी रह्यो । यसअघि इरानले भारतलाई पनि २–० ले हराएको थियो ।

अब नेपालले सोमबार हुने खेलमा भारतको सामना गर्नेछ । इरानसँग अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको यो दोस्रो भेट हो । सन् २०१९ मा भारतकै भुवनेश्वरमा भएको वुमेन्स गोल्डकपमा नेपाल इरानविरुद्ध ३–० ले विजयी रहेको थियो ।

कान्तिपुर

Link copied successfully