जनकपुर बोल्ट्समा मिलान्थाको निरन्तरता

ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले क्रिकेटर लाहिरु मिलान्थालाई अनुबन्धित गरेको जनाएको छ ।

कार्तिक ७, २०८२

कान्तिपुर संवाददाता

Milantha's Continuation at Janakpur Bolts

What you should know

काठमाडौँ — श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाटै दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ड्रिम स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले मिलान्थालाई अनुबन्धित गरेको जनाएको छ ।

गत सिजन जनकपुरलाई पहिलो सिजनको एनपीएलको विजेता बनाउने क्रममा मिलान्थाले सुदूरपश्चिम रोयल्ससँगको फाइनलमा ४९ बलमा ९ चौका र ४ छक्कासहित ८७ रन बनाई जनकपुरलाई ५ विकेटले विजय दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

फाइनलको उक्त इनिङ्सपछि मिलान्था एनपीएलको उच्च रनकर्ता बनेका थिए । उनले गत वर्ष सर्वाधिक २ सय ९३ रन बनाएका थिए । मिलान्थाले पहिलो सिजनको एनपीएलमा सर्वाधिक ३४ चौका पनि प्रहार गरेका थिए । 

जनकपुर बोल्ट्ससँग मिलान्थाको पुरानै सम्बन्धलाई निरन्तरता दिइएको प्रबन्ध निर्देशक निरोज खतिवडाले जनाए । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमिसँग परिचित छन् । उनले ३ वर्षअघि भएको निकै विवादास्पद नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारबाट खेलेका थिए ।

अल स्टार टोलीलाई विजयी बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३ सय ४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए । 

बोल्ट्सले यस सिजनका लागि भित्र्याइएका मिलान्था पहिलो विदेशी खेलाडी हुन् । आउँदा केही दिनमा थप विदेशी खेलाडीको पनि घोषणा गरिने प्रबन्ध निर्देशक निरोज खतिवडाले बताए । बोल्ट्सले यसअघि नै वेस्ट इन्डिज क्रिकेटका महान् हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ । 

कान्तिपुर

Link copied successfully