गत वर्ष पनि बोसिस्टोले कर्णालीबाटै खेलेका थिए र टोलीलाई तेस्रो स्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । कर्णालीले पहिलो दुई खेल खेलेपछि उनी टोलीमा अनुबन्धित भएका थिए ।
What you should know
काठमाडौँ — अस्ट्रेलिया यू–१९ क्रिकेट टोलीका पूर्व कप्तान विलियम बोसिस्टोले यस वर्ष पनि कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । कर्णाली याक्स स्पोर्ट्स प्रालिले शुक्रबार उनलाई अनुबन्ध गरेको जनाएको छ । एनपीएलको दोस्रो सिजन मंसिर १ गते बाट सुरु हुँदैछ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिए । गत वर्ष पनि बोसिस्टोले कर्णालीबाटै खेलेका थिए र टोलीलाई तेस्रो स्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । कर्णालीले पहिलो दुई खेल खेलेपछि उनी टोलीमा अनुबन्धित भएका थिए । बोसिस्टोको आगमनपछि कर्णालीले उच्च लय समातेको थियो ।
निर्देशक घिमिरेले बोसिस्टोको पहिलो संस्करणको अनुभवले दोस्रो संस्करणमा फाइदा पुग्ने बताएका छन् । सोक्रममा ३२ वर्षीय बोसिस्टोले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।
‘पहिलो संस्करणमा सोचेको जस्तो प्रदर्शन भएपछि दुबै पक्ष दोस्रो संस्करणमा पनि निरन्तरता दिन सहमती भयो,’ निर्देशक घिमिरेले भने, ‘दोस्रो संस्करण झनै राम्रो हुने विश्वास लिएका छौं ।’
बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क वाटलाई अनुबन्ध गरिसकेको छ । बासिस्टो सन् २०१२ मा भएको यु–१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए । उनी सो प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट हुँदै ६ खेलमा २ सय ७६ रन बनाएका थिए ।
निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी पनि चाडै सार्वजनिक गरिने जानकारी गराएका छन् । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्ने जनाएको छ । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिइसकेको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
