नेपाली टोलीले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल सिलोङमा हुनेछन् ।
काठमाडौँ — तिहारलगत्तै नेपाली राष्ट्रिय महिला फुटबल टिम भारत जाँदै छ र त्यहाँ खेल्नेछ, दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल । यी दुवै खेल सिलोङमा हुनेछन् ।
टिमका मुख्य प्रशिक्षक रहेका छन्, नवीन न्यौपाने । उनले पहिलो पटक नेपाली महिला राष्ट्रिय टिम सम्हाल्न लागेका हुन् । त्यस अगाडि उनले पुरुषको राष्ट्रिय टिममा मुख्य प्रशिक्षकको भूमिका भने निभाइसकेका छन् । न्यौपानेले २३ सदस्यीय टिम घोषणा पनि गरिसकेका छन् । यो घोषणालगत्तै टिमले आइतबार पहिलो पटक दशरथ रंगशालामा अभ्यास गरेको थियो । नेपालको पहिलो खेल इरानविरुद्ध शुक्रबार छ । अर्को खेल त्यसपछिको सोमबार भारतविरुद्ध हुनेछ ।
यसपल्टको टिममा दुई नयाँ अनुहार थपिएका छन्, मीना देउवा र पूर्णिमा राई । दुवैले पहिलो पटक राष्ट्रिय टिममा स्थान पाएका हुन् र सम्भवतः नेपालका लागि डेब्युको अवसर पनि पाउने छन् । यसक्रमा टिमबाट केही पुराना अनुहार भने हटेका छन् ।
घोषित टिममा गोलरक्षकमा एन्जिला सुब्बा, अञ्जना रानामगर र उषा नाथ छन् । यस्तै, डिफेन्डरमा हिरा भुजेल, पूजा राना, विमला विक, मनयामा दमाई, निशा थोकर, प्रतीक्षा चौधरी र समीक्षा घिमिरे छन् । यस्तै मिडफिल्डरमा सरु लिम्बू, सविता रानामगर, रेनुका नगरकोटे, प्रीति राई, दीपा शाही, अनिता बस्नेत र सजनी थोकर छन् ।
यस्तै फरवार्डमा मीना र पूर्णिमासँगै अनुभवी सावित्रा भण्डारी, रेखा पौडेल र रश्मिकुमारी घिसिङ छन् । यसपल्ट पनि टिमको नेतृत्व सावित्रालाई नै दिएको छ । विदेशी लिगमा खेलिरहेका सावित्रा र पूजा दुवै टिममा सामेल हुन काठमाडौं आइसकेका छन् ।
