युनाइटेड युथ क्लब गिरुबारी नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक ज्योतिपुञ्ज युवा क्लबले तेस्रो संस्करणको उपाधि जितेको हो ।
What you should know
पाल्पा — जिल्लाकै सर्वाधिक पुरस्कार राशिसहित पाल्पाको रामपुरमा सम्पन्न वाईवाई तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजककै पोल्टामा परेको छ । युनाइटेड युथ क्लब गिरुबारी नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक ज्योतिपुञ्ज युवा क्लबले तेस्रो संस्करणको उपाधि जितेको हो ।
सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा ज्योतिपुञ्जकातर्फबाट ६३ औं मिनेटमा सुमित श्रेष्ठले गरेको गोल निर्णायक बन्यो । दुवै टिमले खेल अवधिभर एक अर्कालाई निकै दबाबमा राखेका थिए । रामपुर नगरपालिका–७, किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानमा भएको प्रतियोगिताको विजेता बनेको आयोजक टिमले नगद ३ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता युनाइटेड युथ क्लबले नगद २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमै चित्त बुझायो ।
विजेता ज्योतिपुञ्ज युवा क्लबले सेमिफाइनलमा देवदह ब्वाइज रुपन्देहीलाई पराजित गर्दै फाइनल पुगेको थियो । युनाइटेड युथले अभिषेक चर्च नवलपुरलाई पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत फाइनल गोल गर्ने ज्योतिपुञ्ज युवा क्लबका सुमित श्रेष्ठ प्लेयर अफ दि फाइनल म्याच बने । उनले नगद ५ हजार १५० पाए । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दि फाइनल म्याच ज्योतिपुञ्ज युवा क्लबकै जया गुरुङ घोषित हुँदै गिफ्ट हृयाम्पर पाएका छन् । गत कार्तिक २६ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत प्रतियोगितामा उत्कृष्ट मूल्यवान खेलाडी ज्योतिपुञ्जकै आशिष गुरुङ भए । उनले १७ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त पाए ।
यसैगरी अधिकगोलकर्ता देवदह ब्वाइज रुपन्देहीका आशिष जीसी, उत्कृष्ट गोलरक्षक ज्योतिपुञ्जकै सरोज तामाङ्, उदाउँदो खेलाडी युनाइटेड युथ क्लब गिरुबारी नवलपुरका यम प्रसाद बुढा, उत्कृष्ट रक्षक युनाइटेड युथ नवलपुरका सुमित मल्ल, उत्कृष्ट कोच ज्योतिपुञ्जकै केशव श्रेष्ठ भए । सबैलाई समान नगद ८ हजार प्रमाणपत्र र ट्रफी प्रदान गरिएको खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।
ज्योतिपुञ्ज युवा क्लबले सेमिफाइनलमा पुग्ने तर फाइनल पुग्न नसक्ने टिमलाई २५/२५ हजार नगद प्रदान गरेको छ । प्रतियोगिताको विजेता तथा उपविजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जापानी समाजसेवी काजुमासा काकिमी, ज्योतिपुञ्जका अध्यक्ष सुन्दर राना लगायतले नगद, ट्रफी मेडल प्रदान गरे । रामपुर नगर प्रमुख थापाले विस्तृत परियोजना प्रतिवेदन तयार हुनासाथ फुटबल रंगशाला निर्माणको काम अघि बढ्ने बताए । नगरप्रमुख थापाले चालु आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको बताउँदै क्रमागत २ करोड बजेट रहेको बताए । नगर भित्र रहेको खेल मैदानको स्तरोन्नतिका साथै खेलाडीलाई मनोबल बढाउन प्रतियोगिता आयोजनाले सहयोग पुग्ने अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष रानाले बताए ।
प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, नवलपुर, चितवन, पाल्पा लगायतका १० क्लबले सहभागिता जनाएका थिए । फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहनका साथै रामपुर नगरको पहिचानका लागि क्लबले तेस्रो संस्करणको प्रतियोगिता आयोजना गरेको ज्योतिपुञ्ज युवा क्लबका पूर्व अध्यक्ष सुदीप गौतमले बताए । प्रतियोगिता आयोजक ज्योतिपुञ्ज, नवलपुरको युनाइटेका साथै काठमाडौको हिमालयन शेर्पा क्लब, रुपन्देहीको देबदह ब्यायज, पोखराको एलजी एसोसिएसन, स्याङ्जाको होराइजन क्लब वालिङ, नवलपुरको भैरव स्पोर्टस् क्लब र अभिषेक चर्च रजहर, चितवनको सूर्यपुर फुटबल क्लबको सहभागिता रहेको थियो । क्लबले पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
