नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

नेपालगन्ज रंगशालामा आयोजना हुने पौडी प्रतियोगितामा ८ देखि खुला उमेर समूहसम्मका खेलाडीहरू ५६ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

कार्तिक ३, २०८२

रुपा गहतराज

National swimming competition underway in Nepalgunj

नेपालगन्ज — नेपालगन्ज स्विमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ आयोजना गर्न लागेको हो ।

नेपालगन्ज रंगशाला परिसरस्थित पौडी पोखरीमा हुने प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए । देशभरका विद्यालयहरूलाई लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका साथै खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।

कुनै पनि संघ–संस्था वा क्लबले संस्थागत रूपमा प्रतियोगितामा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको क्लबले जनाएको छ ।

अन्डर–८ उमेर समूहका खेलाडीहरूले २५ मिटर, अन्डर–१० उमेर समूहका लागि ५० मिटर, अन्डर–१२ र अन्डर–१४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर तथा खुला उमेर समूहमा २०० र ४०० मिटर दूरीका गरी जम्मा ५६ इभेन्टमा प्रतिस्पर्धा हुने छन् ।

बाँकेबाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधिभर निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था मिलाइएको क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully