जुम्लामा आजदेखि सुरु भएको जिल्लास्तरीय फुटबल प्रतियोगिताको पहिलो खेलमा चन्दननाथ ३ का अभिषेक बुढथापा म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा फोइकालिका एफसीका धर्म परियार म्यान आफ द म्याच घोषित भए ।
What you should know
जुम्ला — तिहार र छठ पर्वका अवसरमा जुम्लामा जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । चन्दननाथ नगरपालिका–३ को आयोजनामा सुरु भएको प्रतियोगितामा ४४ टिमको सहभागिता रहेको छ ।
जसमा पहिलो दिनको पहिलो खेलमा ढाणथपला युवा क्लब र चन्दननाथ ३ टिमबीच भएको खेलमा चन्दननाथ ३ को टिमले जित्यो । चन्दननाथ ३ ले ढाणथपला युवा क्लबलाई चार गोलले पराजित गर्यो ।
दोस्रो खेलमा गुठिचौर गाउँपालिकाको फोइकालिका एफसी युवा क्लबले जित्यो । जसमा फोइकालिकाले ५ गोल गरेको थियो भने सिद्धगुफाले खाता खोल्न नै सकेन । प्रतियोगिताका संयोजक राजबहादुर खत्रीका अनुसार चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।
पहिलो खेलमा चन्दननाथ ३ का अभिषेक बुढथापा म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा फोइकालिका एफसीका धर्म परियार म्यान आफ द म्याच घोषित भएको संयोजक खत्रीले जानकारी दिए ।
वडाध्यक्ष रतन खत्रीका अनुसार खेलकुदमार्फत युवाबीचको आपसी सम्बन्ध, एकता र उत्सवको भावना मजबुत बनाउन प्रतियोगिता आयोजना गरिएको हो । संयोजक राजबहादुर खत्रीका अनुसार विजेता टिमलाई १ लाख १ हजार रुपैयाँ, उपविजेता टिमलाई ५० हजार ५ सय रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
उनले पछिल्लो समयमा युवाहरुमा फुटबलको क्रेज बढेको बताए । उनले भने, ‘अहिले फुटबलमा युवाको आकर्षण बढेको छ । जसले फुटबलका राष्ट्रियस्तरको खेलाडी जुम्लामै उत्पादन गर्न सकिने सम्भावना बढ्दो छ ।’
'युवामा फुटबल प्रतिको मोह छ, तर खेल प्रदर्शन गर्ने अवसर हुँदैन,' वडाध्यक्ष खत्रीले भने, ‘यो फुटबल प्रतियोगिता मात्रै नभएर खेलाडीले खेल प्रदर्शन गर्न पाउने अवसरमा रूपमा आयोजना गरिएको हो ।’
प्रतियोगितामा जिल्लाको गुठिचौर र तातोपानी गाउँपालिकादेखि पनि खेलाडी सहभागी भएका छन् । उनले खेललाई शान्तिपूर्ण, मर्यादित, अनुशासित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे । फुटबल हेर्न दर्शकहरूको भीड नै लाग्ने गरेको छ ।
