ज्योतिपुञ्ज युवा क्लब फाइनलमा

प्रतियोगिताअन्तर्गत फाइनल खेल आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर पाल्पा र युनाइटेड युथ क्लब गिरुबारी नवलपुरबीच सोमबार हुनेछ ।

कार्तिक २, २०८२

माधव अर्याल

Jyotipunj Youth Club in the final

What you should know

पाल्पा — आयोजक ज्योतिपुञ्ज युवा क्लब पाल्पा रामपुरमा जारी वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा ज्योतिपुञ्जले देवदह ब्बाइज क्लब रूपन्देहीलाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलमा अग्रता देवदह ब्वाइजले लिँदै १४ औं मिनेटमा सुरज चौधरीले गोल गरेका थिए । २६ औं मिेनेटमा ज्योतिपुञ्जका सुमित श्रेष्ठले गोल फर्काएर बराबरी बनाए । पुनः ज्योतिपुञ्जका निरज चौधरीले ३७ औं मिनेटमा गोल गरेर खेललाई अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा पुनः निरज चौधरीले गोल गरेर ज्योतिपुञ्जलाई बलियो स्थानमा पुर्‍याएका थिए । 

खेलमा देवदहकै सुरज चौधरीले ५९ औं मिनेटमा पुनः अर्को गोल थपे । दुई गोल गर्ने ज्योतिपुञ्ज युवा क्लबका निरज चौधरी प्लेयर अफ दी म्याच बने । उनले नगद ३ हजार पाए । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दी म्याच युनाइटेड युथका सुमित श्रेष्ठले घोषित हुँदै गिफ्ट हृयाम्पर पाएका छन् । प्लेयर अफ दी म्याच र रेडबुल इनरजेटिक प्लेयर भएका खेलाडीलाई अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना र जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले पुरस्कार वितरण गरे । 

प्रतियोगिताअन्तर्गत फाइनल खेल आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर पाल्पा र युनाइटेड युथ क्लब गिरुबारी नवलपुरबीच सोमबार हुने खेल संयोजक अनिल शाही ठकुरीले बताए । रंगशाला निर्माण गर्ने उद्देश्यले ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजारसहित ट्रफी र मेडल हात पार्नेछ । उपविजेताले २ लाखसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully