भारतलाई हराएपछि अस्ट्रेलियालाई अग्रता

पहिलो वान डेमा भारतलाई पर्थमा सात विकेटले पराजित गरेसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–० ले अग्रता लिएको छ ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Australia takes lead after defeating India

काठमाडौँ — अस्ट्रेलियाले पहिलो वान डेमा आइतबार भारतलाई पर्थमा सात विकेटले पराजित गरेको छ । यससँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–० ले अग्रता लिएको छ । वर्षाले प्रभावित खेलमा जितका लागि १ सय ३१ रनको परिमार्जित लक्ष्य पाएको अस्ट्रेलियाले २१.१ ओभरमा तीन विकेट गुमाएर विजयी रन जोड्यो ।

त्यसमा ओपनर तथा कप्तान मिचेल मार्सले सबैभन्दा बढी ४६ रन बनाए र नटआउट रहे । उनले ५२ बलको सामना गरेर दुई चौका र तीन छक्का प्रहार गरे । यस्तै, जोस फिलिपले ३७ रन बनाए भने म्याट रेनस २१ रन बनाएर नटआउट रहे र अस्ट्रेलिया सहज जित आत्मसात् गर्न सफल रह्यो ।  

त्यस अगाडि भारतले २६ ओभरमा छोट्याइएको खेलमा नौ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले ३१ बलमा ३८ रन बनाए र यो नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यस्तै, अक्षर पटेलले ३१ रन जोडे ।

टिमका दुई अनुभवी खेलाडी रोहित शर्मा र विराट कोहली दुवै ब्याटबाट असफल रहे । रोहितले आठ रन बनाए भने विराटले आफ्नो खातासमेत खोल्न सकेनन् र शून्यमा आउट भए । अस्ट्रेलियाली बलरमध्ये जोस हेजलउड, मिचेल ओवेन र मयाथ्यु कुनेमनले दुई दुई विकेट लिए ।

कान्तिपुर

Link copied successfully