कार्यवाहक अध्यक्ष रहेका वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेको सूचना दिएका हुन् । एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव राई दुवै अहिले साउदी अरेबियामा छन् ।
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादले आइतबार थप नयाँ रूप लिएको छ । कार्यवाहक अध्यक्ष रहेका वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेको सूचना दिएका छन् । एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव राई दुवै अहिले साउदी अरबमा छन् ।
एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रमका लागि उनीहरू उता गाएका हुन् । अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष रहेका खड्का कार्यवाहक अध्यक्ष भएका हुन् । उनले राईको नाममा कात्तिक २ आइतबार लेखेको पत्रमा निलम्बन गरेको सूचना दिएका हुन् ।
त्यस पत्रमा लेखिएको छ, ‘साधारण सभा र कार्यसमितिको म्यान्डेटलाई बेवास्ता गर्दै विधान, विधि र पद्धति विपरीत फुटबल खेलको विकासमै दीर्घकालीन असर पार्ने गरेर के कति आधारमा कसको निर्देशनमा कार्य गर्नु भएको हो ? भनेर तीन दिनभित्र स्पष्टीकरण सोधिएकोमा तपाईँबाट हालसम्म जवाफ प्राप्त नभएकोले अर्को कार्यसमितिको बैठकसम्मका लागि निलम्बन गरिएको छ ।’
