युनाइटेड युथ क्लब फाइनलमा

शनिबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई टाइब्रेकरमा ४–३ ले पछि पार्दै फाइनलमा प्रवेश पाएको हो ।

कार्तिक १, २०८२

माधव अर्याल

United Youth Club in the final

पाल्पा — दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, नवलपुर पाल्पाको रामपुरमा जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई टाइब्रेकरमा ४–३ ले पछि पार्दै फाइनलमा प्रवेश पाएको हो । निर्धारित समयको खेलमा युनाइटेड र अभिषेक चर्चले समान १–१ गोलको बराबरी खेलेका थिए । 

खेलमा अग्रता युनाइटेडले लिँदै १३औं मिनटमा एरोन थापाले गोल गरेका थिए । ५७ औं मिनेटमा अभिषेक चर्चका लागि बिक्की चौधरीले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए । थपिएको समयमा समेत गोल हुन नसकेपछि टाइब्रेकरमा युनाइटेड युथले नतिजा आफ्नो पोल्टामा पारेको हो । 

खेलमा युनाइटेड युथका गोलरक्षक निशान राना प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार पाए । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच युनाइटेड युथका जेबिन लामिछाने घोषित हुँदै गिफ्ट हृयाम्पसर पाएका छन् । 

प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर पाल्पा र देवदह ब्वाइज, देवदह, रूपन्देहीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले बताए ।

रंगशाला निर्माण गर्ने उद्देश्यले ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाले राखेको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजारसहित ट्रफी र मेडल हात पार्नेछ । उपविजेताले २ लाखसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक ३ गते हुने ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर रानाले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully