काठमाडौंको प्लानिङ ब्वाइज बेलबारी गोल्डकप च्याम्पियन

मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा प्लानिङ ब्वाइज सहलेश युथ क्लब सिराहालाई २–१ गोल अन्तरले पराजित गर्दै आठौं संस्करणको च्याम्पियन बनेको हो ।

कार्तिक १, २०८२

पर्वत पोर्तेल

Kathmandu's Planning Boys Belbari Gold Cup champions

What you should know

विराटनगर — आरजु राईस मेजर स्व. एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लबले हात पारेको छ। 

मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा प्लानिङ ब्वाइज सहलेश युथ क्लब सिराहालाई २–१ गोल अन्तरले पराजित गर्दै आठौं संस्करणको च्याम्पियन बनेको हो । गत वर्ष उपविजेतामा सीमित सहलेश युथ क्लबले यसपटक पनि दोस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । खेल सुरु भएदेखि नै दुवै टोलीबीच आक्रामक प्रदर्शन भएको थियो ।

पहिलो हाफको पाँचौँ मिनेटमा प्लानिङ ब्वाइजका जर्सी नम्बर ९ सुजन मगरले डिबक्स नजिकैबाट वान–अन–वान अवसर सदुपयोग गर्दै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुआतमै सहलेशका मिलन राईको पासमा समिर तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

तर, खेलको २०औं मिनेटमा पुनः सुजन मगरकै दोस्रो गोलबाट प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । कप्तान प्रतापसिंह राईको क्रस पासलाई सुजनले गोलमा परिणत गरेका थिए ।

खेलका क्रममा दुवै टोलीका खेलाडीले कार्डको सामना गर्नुपर्‍यो । सहलेशका समीर तामाङ र प्लानिङका अबिनाश स्याङतेनले पहेँलो कार्ड पाए भने सहलेशका दिपेश धिमालले कप्तान प्रतापसिंह राईलाई पछाडिबाट फल गरेपछि रातो कार्ड पाएका थिए ।

सहलेशले खेलमा बराबरीको अवसर गुमायो । कुलदिप कार्कीको फ्रीकिक बारमा ठोक्किएर फर्किएको थियो भने मिलन राईले डिबक्सभित्रबाट पाएको बराबरी गोलको अवसर चुकाएका थिए ।

म्यान अफ द म्याच सहलेशका समिर तामाङ घोषित भए र उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे । बेष्ट गोलकिपर प्लानिङका योगेश धिमाल भए । बेष्ट डिफेन्डर प्लानिङका मिङ्मा घिसिङ, बेष्ट मिडफिल्डर प्लानिङका रमण भुजेल घोषित भए । प्रत्येकले ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरे ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी प्लानिङका कप्तान प्रतापसिंह राई बने, जसले २५ हजार नगद र मेडल पाएका थिए । विजेता प्लानिङ ब्वाइज युनाइटेडले ८ लाख रुपैयाँ नगद पुरस्कार, उपविजेता सहलेश युथ क्लबले ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल पाए । 

पुरस्कार वितरण बेलबारी नगरपालिकाका मेयर डीपी राई, आयोजक एलएक्स सिटी क्लबका अध्यक्ष बिक्रम राई, एन्फा उपाध्यक्ष दावा तामाङ र एन्फा केन्द्रीय सदस्य दिपेन्द्र धिमालले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको ट्रफी ४ केजी चाँदी र २.५ तोला सुन जडित छ, जुन तीन पटक उपाधि जित्ने क्लबले स्थायी रूपमा राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।

गत वर्षको उपाधि झापा–११ ले जितेको थियो।

स्व. मेजर एन.बी. राईको स्मृतिमा आयोजित यो रनिङ गोल्डकप लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतिराज राईको सौजन्यमा आयोजना गरिएको क्लबका महासचिव शम्भू बस्नेतले जानकारी दिए ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully