गुरुखोला लायन्स यूपीएल उपाधि

शनिबार फाइनलमा हिमचुली युवा सदनलाई ७ विकेटले पराजित गर्दै लायन्सले उपाधि जित्यो । विजेताले १ लाख ३५ हजार ७ सय ९१ रुपैयाँ नगद पुरस्कार पायो । उपविजेता हिमचुलीले ५६ हजार ७ सय ७९ रुपैयाँ पायो ।

कार्तिक १, २०८२

मोहन चन्द

Gurukhola Lions UPL title

What you should know

बैतडी — बैतडीको पाटनमा सम्पन्न पाँचौं संस्करणको उदयदेव–पाटन प्रिमियर लिग (यूपीएल) को उपाधि कोइनडा गुरुखोला लायन्सले जितेको छ ।

शनिबार फाइनलमा हिमचुली युवा सदनलाई ७ विकेटले पराजित गर्दै लायन्सले उपाधि जित्यो । विजेताले १ लाख ३५ हजार ७ सय ९१ रुपैयाँ नगद पुरस्कार पायो । उपविजेता हिमचुलीले ५६ हजार ७ सय ७९ रुपैयाँ पायो ।

१ सय १० रनको विजय लक्ष्य पाएको गुरुखोलाले ९.१ ओभरमा ३ विकेट गुमाई पूरा गर्‍यो । गजेन्द्र बोहराले सर्वाधिक ४३ रन बनाए । हिमचुलीका पारस विष्टले २ विकेट लिए ।

कृष्ण माविको खेलमैदानमा पहिलो ब्याटिङ गरेको हिमचुलीले १७.५ ओभरमा १ सय ९ रनमात्र बनाएको थियो । गुरुखोलाका कैलाश ऐरले ४ विकेट लिए । उनी प्लयेर अफ द फाइनल चुनिए ।

हिमचुलीबाट ऋषिकेश बोहराले प्रतियोगिताभर ११० रन र ७ विकेट लिएका थिए । उनी प्लेयर अफ द सिरिजमा चुनिए ।

बनारसी क्रिकेट टिमका अभिषेक पाल बेस्ट ब्याटर भए भने गुरुखोलाका राम चन्द बेस्ट बलर भए । अभिषेकले १८४ रन र रामले ७ विकेट लिएका थिए । पाटन एकता समाज (ख) का समीर भण्डारी उदयीमान खेलाडी चुनिए । उनले ४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाए ।

म्यान अफ द सिरिजले १२ हजार ३ सय ४५, बेस्ट बलर र ब्याटरले जनही ५ हजार ६७८ रुपैयाँ पुरस्कार पाए ।

पाटन एकता समाजले पाटन नगरपालिकाको प्रायोजनमा आयोजना गरेको प्रतियोगितामा १३ टिमको सहभागिता थियो । स्थानीयस्तरमा भएको यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बैतडी क्रिकेट संघका अध्यक्ष विनोद चन्दको विश्वास छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully