आईसीसी ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्दै विश्वकपमा पुग्दा नेपाललाई दोहोरो खुसी मिलेको हो।
What you should know
काठमाडौँ — नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप पुगेको खुसीयाली एसिया–इस्ट एसिया प्यासिफिक छनोट च्याम्पियन बनेर मनाएको छ । ओमानमा भइरहेको प्रतियोगिताको सुपर सिक्सको शुक्रबार अन्तिम खेलमा सामोआलाई १ सय २४ रनले पराजित गरेपछि नेपाल विजेता बनेको हो ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भएका प्रतियोगिताहरूमा जितेको यो सबैभन्दा ठूलो उपाधि हो । सन् २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको एसिया छनोटलाई आयोजित इस्टर्न रिजन जितेको थियो ।
‘पछिल्ला दुई खेल हामीलाई निकै सजिलो भयो, अघिल्ला हृदयाघात हुने जस्तो खेल भएन । हामीले बलिङ र फिल्डिङमा राम्रो गर्यौं र प्रतियोगिता राम्रो हुन पुग्यो,’ नेपालका कप्तान रोहित पौडेलले अफिसियल ब्रोडकास्टर्ससँग भने, ‘पछिल्लो दुई साता निकै तनाव रह्यो । हाम्रो टोलीले जसरी खेल्यो त्यसमा म गर्व गर्छु ।’
भारतीय भूमिमा गएर भारतविरुद्ध विश्वकप खेल्न पाउँदा नेपालका लागि त्यो ठूलो अवसर हुने जनाउँदै रोहितले भने, ‘हामी अब भारतमा गएर विश्वकप खेल्नेछौं, त्यसैले भारतसँग खेल्न मन पराउँछौं । अस्ट्रेलिया, इंग्ल्यान्डसहित अन्य केही ठूला टोलीसँग पनि खेल्न चाहन्छौं ।’
यसअघिका तीन खेल जितेर ८ अंकसहित नेपालले भारत र श्रीलंकामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाइसकेको थियो । फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने उक्त विश्वकपमा २० राष्ट्रको सहभागिता रहनेछ ।
सन् २०१३ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपका लागि यूएईमा ग्लोबल छनोट खेल्दा नेपाल तेस्रो हुँदै छनोट भएको थियो । त्यसको १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा काठमाडौंमा सम्पन्न एसिया छनोटमा नेपाल उपविजेता भएको थियो । नेपालसहित ओमान र यूएईले पनि ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका थिए ।
यसपालि अपराजित रही विजेता बनेर नेपालले १० अंक जोडेको छ । ओमानको ८ र यूएईको ६ अंक रह्यो । नेपालले सामोआलाई पराजित गरेपछि ओमानलाई २ अंकले पछाडि पारेको हो । ९ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले सबै खेल जितेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको थियो । त्यसपछि सुपर सिक्समा यूएई, कतार र ओमानलाई पराजित गरेको थियो ।
२ सय १२ रनको लक्ष्य पाएको सामोआले ७ विकेट गुमाई ८७ रनमात्र बनाउन सक्यो । ओपनर सिन सोलिआले सर्वाधिक ४० रन बनाए । उनले ३७ बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे । बेन्जामिन माइलताले ११ रन बनाए । ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र रोहितले १–१ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपालले अल एमेरात क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । आसिफ शेख र कुशल भुर्तेलले पावर–प्लेको पहिलो ६ ओभरमा ६१ रन जोडेर आक्रामक सुरुआत दिलाएपछि नेपालले विशाल स्कोर बनाएको हो । भुर्तेल १५ बल खेल्दै २ चौका र १ छक्कासहित १७ रन बनाएर आउट भए ।
प्लेयर अफ द म्याच आसिफले ६९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आसिफको यो उच्च स्कोर हो । उनले गत महिना शारजहाँमा वेस्ट इन्डिजविरुद्ध ६८ रन बनाएका थिए । आसिफले ४१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा पहिलो पटक मौका पाएका आसिफका दाइ आरिफ २ चौकासहित ९ रन बनाई आउट भए । दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे ।
नेपालले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो । रोहित ११ बल खेल्दै समान १ चौका र छक्कासहित २२ तथा लोकेश बम १२ बलमा २ चौका र ४ छक्कासहित ३९ रन बनाई अविजित रहे ।
सम्बन्धित समाचार
नेपाल तेस्रोपल्ट विश्वकप खेल्दै
