नेपाल तेस्रोपल्ट विश्वकप खेल्दै

बेलुकी ओमानसँग भएको खेलमा ३८ रनको फराकिलो जित हासिल गर्दै ८ अंकसहित अपराजित नेपाल छनोटको शीर्षस्थानमा पनि पुगेको छ । च्याम्पियनसिप उपाधिको नजिक पुगेको नेपालले बाँकी एक खेल शुक्रबार सामाओसँग खेल्दै छ ।

आश्विन ३०, २०८२

विनोद पाण्डे

Nepal is playing in the World Cup for the third time.

What you should know

काठमाडौँ — नेपाल तेस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानविरुद्ध खेल्नु केही घण्टाअगाडि नेपालले ट्वान्टी–२० विश्वकपको टिकट काटेको हो । ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको दुवै खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपमा छनोट भएका हुन् । 

बेलुकी ओमानसँग भएको खेलमा ३८ रनको फराकिलो जित हासिल गर्दै ८ अंकसहित अपराजित नेपाल छनोटको शीर्षस्थानमा पनि पुगेको छ । च्याम्पियनसिप उपाधिको नजिक पुगेको नेपालले बाँकी एक खेल शुक्रबार सामाओसँग खेल्दै छ । 

Nepal is playing in the World Cup for the third time.बुधबार दिनको खेलमा कतारले जापानलाई ३ विकेट र यूएईले सामाओलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रो पटक विश्वकपमा पुग्न सफल भएका हुन् । सन् २०२३ मा काठमाडौंमा भएको एसिया छनोटबाट शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान नै विश्वकपमा पुगेका थिए ।

मस्कट त्यही स्थान हो, जहाँ नेपाल सन् २०२२ को ट्वान्टी–२० विश्वकप छनोट र डेढ वर्षअघि एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा पराजित भएर क्रमशः ट्वान्टी–२० विश्वकप र एसिया कपमा पुग्न असफल भएको थियो । यी दुवै पटकमा नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो । यसपल्ट त्यही यूएईलाई सुपर सिक्सको पहिलो खेलमा १ रनले पराजित गरेपछि नेपाल ट्वान्टी–२० विश्वकप नजिक पुगेको थियो ।

त्यसपछि नेपालले सोमबार कतारलाई ५ रनले पराजित गरी ट्वान्टी–२० विश्वकप प्रवेशको औपचारिकता मात्र बाँकी राखेको थियो । यसअघि समूह चरणको खेलमा कुवेत र जापानलाई हराएर नेपाल २ बोनस अंक लिएर सुपर सिक्समा पुगेको थियो । सन् २०१४ मा बंगलादेशबाट नेपालले ट्वान्टी–२० विश्वकपको ढोका खोलेको थियो । १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्नेक्रममा नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित विश्वकप खेलेको थियो । ट्वान्टी–२० विश्वकप सन् २००७ देखि सुरु भएको हो । नेपालले २००७ देखि नै छनोट खेल्दै आएको छ । 

फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपको १० औं संस्करण आयोजना हुँदै छ । नेपाल र ओमान यस संस्करणका लागि छनोट हुने क्रमशः १८ र १९ औं राष्ट्र हो । भारत र श्रीलंका आयोजक राष्ट्र भएका कारण ट्वान्टी–२० विश्वकपमा सोझै छनोट भएका छन् । गत संस्करणको ट्वान्टी–२० विश्वकपबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज तथा आईसीसी वरीयताबाट आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तानले भारत र श्रीलंकामा हुने ग्लोबल इभेन्टमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए । 

Nepal is playing in the World Cup for the third time.आईसीसी ट्वान्टी- २० विश्वकपको एसिया-इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा बुधबार ओमानविरुद्धको खेलमा प्लेयर अफ द म्याच भएका कुशल भुर्तेल ब्याटिङका क्रममा। तस्बिर : क्यान

क्षेत्रीय छनोटमा अमेरिकी क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्यान्ड्स र इटाली तथा अफ्रिकाबाट जिम्बावे र नामिबिया यस ट्वान्टी–२० विश्वकपमा पुगेका थिए । ओमानमा भइरहेको प्रतियोगिताले ट्वान्टी–२० विश्वकपमा पुग्ने थप एक टोलीको निर्क्योल गर्नेछ । त्यसमा यूएई, सामाओ, कतार र जापानको सम्भावना छ । नेपालले शुक्रबार सामाओसँग सुपर सिक्सको अन्तिम खेल खेल्ने छ । अन्तिम दुई खेलमा सामाओलाई पराजित गरेमा नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्नेछ । 

‘ओमानसँग खेल्नुअगाडि नै हामीलाई विश्वकपमा पुगिसकेको थाहा भएको थियो । तर हामी उपाधिका लागि खेलिरहेका थियौं, त्यसैले ओमानसँगको खेल जितेर अंकतालिकाको शीर्षस्थानमा जानु महत्त्वपूर्ण थियो,’ नेपालका कप्तान रोहित पौडेलले अफिसियल ब्रोडकास्टरसँग भने, ‘अहिले एकदमै आनन्द महसुस भइरहेको छ, जुन शब्दमा वर्णन गर्न सकिन्न, किनभने पछिल्लो १ वर्षदेखि हामीले यो सपना देखिइरहेका थियौं । हामी योभन्दा पनि राम्रो खेल्दै जान्छौं र विश्वकपमा अझ राम्रो खेल्ने छौं ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully