बेलबारी गोल्डकपको उपाधिका लागि सहलेश एफसी र प्लानिङ ब्वाइज भिड्ने

शुक्रबार मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा भएको दोस्रो सेमिफाइनलको खेलमा अतिरिक्त समयमा निर्णायक गोल गरी भोजपुर फुटबल संघलाई १–० ले पराजित गर्दै सहलेश एफसी फाइनल पुगेको हो ।

आश्विन ३१, २०८२

पर्वत पोर्तेल

Sahlesh FC and Planning Boys to clash for Belbari Gold Cup title

विराटनगर — सिराहाको सहलेश फुटबल क्लब (एफसी) बेलबारी आरजु राइस मेजर स्व. एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा भएको दोस्रो सेमिफाइनलको खेलमा अतिरिक्त समयमा निर्णायक गोल गरी भोजपुर फुटबल संघलाई १–० ले पराजित गर्दै सहलेश एफसी फाइनल पुगेको हो । सहलेशका सुजन डंगोलले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल नै निर्णायक बनेको हो ।

१० खेलाडीमा सीमित भोजपुरले खेलको अधिकांश समय रक्षात्मक रणनीति अपनाए पनि अन्तिम क्षणमा गोल खान पुगेको थियो ।

खेलका म्यान अफ द म्याच भोजपुरका विवेक राई घोषित भए । अब सहलेश एफसीले शनिबार हुने फाइनलमा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लबसँग उपाधि भिडन्त गर्नेछ ।

प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँसहित ४ तोला सुन र चाँदी जडित ट्रफी तथा उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

मुख्य प्रायोजक आरजु राइस मिल र मुख्य सहयोगी बेलबारी नगरपालिका रहेका प्रतियोगिताको सौजन्य स्व. मेजर एन.बी. राईको स्मृतिमा पोपीराज राई र ज्योतिराज राईले गरेका हुन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully