गत भदौ ६ र ७ गते गरेको खेलाडी छनोटबाट प्रारम्भिक सूचीमा परेर एक महिनाको बन्द प्रशिक्षणपछि राष्ट्रिय टोलीको १२ जनाभित्र रानाले स्थान बनाएकी हुन् । प्रतियोगिता आगामी २०८२ कार्तिक १७ देखि २४ गतेसम्म श्रीलंकामा सञ्चालन हुनेछ ।
पाल्पा — पाल्पाबाट पहिलो पटक महिला भलिबल खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएकी छन् । सेन्ट्रल एसियन भलिबल संघ (काभा) को स्वीकृति र श्रीलंका भलिबल फेडरेसनको आयोजनामा श्रीलंकाको कोलोम्बोमा हुने काभा यू–१९ महिला भलिबल च्याम्पियन–२०२५ मा नेपालका तर्फबाट पाल्पा रामपुरकी विनीता राना लगायत १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
राना नेपाल यू–१९ महिला भलिबल टोलीका १८ जनामा चयन भएकी थिइन् । नेपाल भलिबल संघले गत भदौ ६ र ७ गते गरेको खेलाडी छनोटबाट प्रारम्भिक सूचीमा परेर एक महिनाको बन्द प्रशिक्षणपछि राष्ट्रिय टोलीको १२ जनाभित्र रानाले स्थान बनाएकी हुन् । प्रतियोगिता आगामी २०८२ कार्तिक १७ देखि २४ गतेसम्म श्रीलंकामा सञ्चालन हुनेछ ।
स्टेप रामपुरमार्फत भलिबल खेल्न सुरु गरेकी राना नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पाल्पाको पहिलो महिला भलिबल खेलाडी भएको प्रशिक्षक कमल रानाले बताए ।
उनका अनुसार रानाले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रपति रनिङ सिल्ड, प्रचण्ड कप राष्ट्रिय भलिबल, मुख्यमन्त्री कपमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन् । उनी पोखरामा भएको ९ औं एनभीए कपमा एभरेस्ट भलिबल क्लबबाट सहभागी भएकी थिइन् । स्टेप रामपुरले महिला भलिबलको उत्थानका लागि निःशुल्क प्रशिक्षणसहित महिला खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।
