नेबिकोका सीईओ न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा गौरव महसुस भएको जनाए ।
काठमाडौँ — एनपीएल प्रतिस्पर्धी टोली कर्णाली याक्स र नेबिको लिमिटेडबीच सहप्रायोजन सम्झौता भएको छ । मंसिर १ देखि हुने नेपाल प्रिमियर लिग क्रिकेटका लागि कर्णाली याक्सले सम्झौता गरेको हो ।
बिहीबार कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका प्रमुख अशोक पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रमा नेबिकोका सीईओ होम न्यौपाने, मार्केटिङ हेड अरुण पौडेल, कर्णालीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्न्यातको उपस्थितिमा उक्त सम्झौता भएको हो ।
निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले सबै नेपालीलाई जोड्ने काम गरिरहेको स्मरण गराउँदै एनपीएलका लागि नेबिकोसँगको सहकार्यले आफ्नो टोलीको हौसला बढेको बताए ।
नेबिकोका सीईओ न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा गौरव महसुस भएको जनाए ।
उनले नेबिकोले उत्पादनमा ६ दशक पूरा गरेको बताउँदै यो सहकार्यले व्यावसायिक यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्य सामग्री उत्पादन गरिरहेको छ ।
एनपीएल दोस्रो संस्करणमा कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । मल्ल अहिले स्टुवार्ट लको सहायक भएर नेपाली राष्ट्रिय टोलीसँगै ओमानमा ट्वान्टी–२० विश्वकप छनोट टिमसँग आबद्ध छन् ।
सोमपाल कामीको नेतृत्वमा कर्णाली याक्स गत सिजन तेस्रो भएको थियो । टोलीमा सोमपालसँगै गुलशन झा, नन्दन यादव, विपिन शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिशसिंह ठकुरीलाई रिटेन गरेको छ । मिनी अक्सनबाट कर्णालीले पवन सर्राफ र युवराज खत्रीजस्ता खेलाडी लिएको थियो ।
