देव्रेहाते ब्याटर सर्टले अस्ट्रेलियाबाट आठ एकदिवसीय र बीस ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
काठमाडौँ — लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अस्ट्रेलियन ब्याटर डार्सी सर्टलाई बिहीबार अनुबन्ध गरेको छ ।
देव्रेहाते ब्याटर सर्टले अस्ट्रेलियाबाट आठ एकदिवसीय र बीस ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । त्यसक्रममा एकदिवसीयमा एक र ट्वान्टी–२० मा चार अर्धशतक बनाएका थिए ।
अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्सीलाई टिममा अनुबन्ध गर्न पाउँदा एकदमै उत्सही भएको लायन्सले विज्ञप्तिमार्फत जनाएको छ । उनको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ११८ र सबैखाले ट्वान्टी–२० मा १३० भन्दा माथिको स्ट्राइकरेट छ ।
उनी देव्रेहाते स्पिन बलिङ पनि गर्छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा लायन्सले मंसिर १ देखि हुने दोस्रो संस्करणका एनपीएलमा खेल्नेछ ।
डार्सीसँग इन्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । उनले सन् २०१८ मा आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका थिए । ३५ वर्षीय उनको आगमनले टिमको ब्याटिङलाइन थप मजबुत हुने अपेक्षा लुम्बिनीको अपेक्षा छ ।
