यूएईले ओमानको मस्कटमा भइरहेको एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको निर्णायक खेलमा बिहीबार जापानलाई सजिलै ८ विकेटले पराजित गर्यो ।
काठमाडौँ — यूएई आउदो ट्वान्टी–२० विश्वकपमा पुग्ने छनोट हुने अन्तिम राष्ट्र बनेको छ । यूएईले ओमानको मस्कटमा भइरहेको एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको निर्णायक खेलमा बिहीबार जापानलाई सजिलै ८ विकेटले पराजित गर्यो ।
सुपर सिक्सको पहिलो दुई खेलमा नेपाल र ओमानसँग पराजित भएपछि अप्ठयारो स्थितिमा पुगेको यूएईले लगातार दोस्रो खेल जित्दै फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा २० राष्ट्र सम्मिलित आईसीसी ट्वान्टी–२० विश्वकपको १० औं संस्करणका लागि आफ्नो स्थान पक्का गरेको हो ।
नेपाल र ओमान बुधबारकै खेलबाट विश्वकपमा पुगिसकेका थिए । नेपालका ८ र ओमानको ६ अंक छ । यूएईले जापानलाई पराजित गरेपछि ६ अंक भएको छ । जापानको २ अंकमात्र छ । जापानले अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा यूएईलाई नभेट्ने स्थिति भएको हो । जापानमाथि फराकिलो विजय हात पारपछि यूएईले ओमानलाई नेट रनरेटमा उछिन्दै दोस्रो स्थानमा उक्लेको हो ।
ओमान र जापान शुक्रबार खेल्दै छन् । नेपालले सामोआसँग खेल्ने छ । यस खेलमा विजय हात पारेमा नेपाल ९ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता बन्ने छ । नेपाल र सामोओ पहिलो पटक आमने सामने हुन लागेका हुन् । सन् २०२३ मा नेपालसँग मूलपानीमा सेमिफाइनलमा पराजित हुँदा यूएई पछिल्लो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुन असफल भएको थियो ।
अल एमेरेट क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १६ रन बनाएको थियो । वाटारु मियाउचीले सर्वाधिक अविजित ४५ रन बनाए । उनले ३२ बल खेलि ३ चौका र २ छक्का प्रहार गरे । इसाम रहमान २६ बलमा ३ चौका प्रहार गरी २३ रन बनाई आउट भए । यूएईका हैदर अलीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मोहम्मद इरफानले २ तथा जुनाइद सिद्धिकी, ध्रुव परासर र जाहिद अलीले १–१ विकेट लिए ।
अलिसान सराफु र कप्तान मोहम्मद वासिमले ७ ओभरमै ७० रन जोडेर दिलाएको उत्कृष्ट सुरुआतमा यूएईले १२.१ ओभरमै १ सय १८ रन बनाएको थियो । वासिमले २६ बल खेलि ८ चौकासहित ४२ र सराफुले २७ बल खेलि ४ चौका र ३ छक्का प्रहार गरि ४६ रन बनाए । मायन्क कुमार १३ र राहुल चोपरा १४ रनमा अविजित रहे ।
