खेलाडीको स्वास्थ्योपचारलाई राखेप र नाम्सको सहकार्य

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ । राखेपमा बिहीबार राखेप र नाम्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई आवश्यकताअनुरूप विशेष सेवा दिन सम्झौता भएको छ ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

NSC and NAMS collaborate on athletes' healthcare

What you should know

काठमाडौँ — नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पतालबाट स्वास्थ्य सेवा र उपचारमा छुट पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ । राखेपमा बिहीबार राखेप र नाम्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई आवश्यकताअनुरूप विशेष सेवा दिन सम्झौता भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नाम्सका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ । यो सम्झौता ५ वर्षको हुने र पछि सहमतिमा नवीकरण हुने सक्नेछ ।

नेपाली खेलकुद विकासमा थप टेवा पुग्ने गरी कुल ११ सर्तसहित सहकार्य भएको छ । नाम्सले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउने छ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउनेछन् ।

खेलाडीहरूले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियन खेलाडीले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् । एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउनेछन् । राखेपको सम्पर्क अधिकृतले प्रमाणीकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई विशेष सेवा दिनेछन् ।

उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्य सम्बन्धि शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियोथेरापी र पोषणासम्बन्धी विभिन्न कार्यक्रम नाम्सले दिने सहमति भएको छ ।

सदस्य–सचिव घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । राखेपले सञ्चालन गरेको मिसन–२०२६ लगायत राष्ट्रिय टिमको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङले बताए ।

राखेपले राष्ट्रिय टिमका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उनको विश्वास छ । यो सम्झौताले खेलकुदको बृहत्तर पक्षलाई समेटेको उनले बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताए । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निर्देशक डा. दिलीप शर्मा, डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टलगायत उपस्थित थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully